
विराटनगर । कोशी प्रदेशमा सञ्चालित विभिन्न गैरसरकारी, सामुदायिक र निजी स्वास्थ्य संस्थाहरूलाई मापदण्ड पूरा गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालय कोशीले एक सूचना जारी गर्दै सूचना प्रकाशित भएको मितिले सात दिनभित्र मापदण्ड पूरा गर्न निर्देशन दिएको हो ।
मन्त्रालयका स्वास्थ्य प्रशासक डा. रामहरि रेग्मीले जारी गरेको सूचनामा तोकिएको समयमा मापदण्ड पूरा नगरेको खण्डमा जनस्वास्थ्य सेवा ऐन २०७७ को परिच्छेद ५ बमोजिम कानूनी कारबाही गरिने जनाइएको छ ।
‘इजाजतपत्र र सञ्चालन स्वीकृति नलिई स्वीकृत शैया भन्दा बढि, मापदण्ड विपरित गैरकानूनी तरिकाले सञ्चालन गरेको साथै विशेषज्ञ र विशिष्टीकृत सेवा सम्बन्धित निकायबाट स्वीकृति र अनुमति नलिई सेवा सञ्चालन गरिरहेको भनी गुनासो प्राप्त भइरहेको छ’, सूचनामा भनिएको छ ।
स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका २०७०, स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७, जनस्वास्थ्य सेवा ऐन २०७७ (कोशी प्रदेश) र जनस्वास्थ्य सेवा नियमावली २०७७ अनुसार मापदण्ड पूरा गर्न भनिएको छ ।

संगालोखबर 













