
विराटनगर । पाँचथरको हेवा खोलामा पानीको सतह बढेपछि मेची राजमार्ग अवरुद्ध भएको छ । पाँचथरको फिदिम नगरपालिका-४ र हिलिहाङ गाउँपालिका-७ जोड्ने हेवाखोलामा पानीको सतह बढेपछि सवारीसाधन आवत-जावत ठप्प भएको हो ।
‘पानीको सतह क्रमशः घट्दै छ । पानीको बहाव पूर्णरूपमा घटेको छैन’, पाँचथरका प्रहरी प्रवक्ता रूपेश तामाङले संगालोखबरसँग भने, ‘क्षति भएको ठाउँमा जेसीबीको माध्यमबाट मर्मत गर्ने काम भइरहेको छ । तर सवारीसाधन संचालन हुन समय लाग्छ ।’
बढीले आवत-जावत रोकिएपछि गन्तव्यमा हिँडेका सवारीसाधनहरू बाटोमा नै रोकिएका छन् । सवारीसाधन बाटोमा नै रोकिएपनि मान्छेहरूको आवत-जावत भने नरोकिएको उनको भनाइ छ ।
डाइभर्सन भन्दा केही तल झोलुङ्गे पुल रहेको र त्यही पुलबाट मान्छेहरूको आवत-जावत भइरहेको उनको भनाइ छ ।
२०८० साल असारमा आएको बाढीले हेवा खोलाको पुल बगाएको थियो । पुल बगेपछि बनाइएको बेलिब्रिज पनि गएको असोज १२ गतेको बाढीले बगाएपछि खोलामा डाइभर्सनको भरमा गाडी चल्ने गरेका छन् ।

संगालोखबर 













