
धनकुटा । नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले गठबन्ध सरकार भ्रष्टाचारी जोगाउन केन्द्रित भएको आरोप लगाएका छन् । आज प्रेस सेन्टर धनकुटाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव गजुरेलले यस्तो आरोप लगाएका हुन् ।
सरकार भ्रष्टाचारी जोगाउन केन्द्रित भएको र प्रधानमन्त्रीको गतिविधि पनि ठिक नभएको उनको भनाइ थियो ।
‘प्रचण्ड प्रधानमन्त्री भएको बेला सुशासन, न्याय र समृद्धिको पक्षमा जति पनि काम भए, त्यसले जनतामा आशा र विश्वास पैदा गरेको थियो’, उनले भने, ‘तर पछिल्लो समय यो सरकार गलत तरिकाबाट भ्रष्टाचारी जोगाउन लागेको आफ्नो पार्टीको बुझाइ छ ।’
सरकार आफ्ना मान्छेलाई जस्तोसुकै आरोप भएपनि जोगाउन लागिपरेको र विपक्षी दलकालाई साना-साना कुरामा फसाउन लागेको उनको भनाइ थियो ।
यस्तै उनले माओवादी भित्रपनि केही कमजोरी भएकाले सुधारको आवश्यकता रहेको औंल्याए । देशलाई सुशासन तिर लैजान माओवादीबाट अलग भएका सबै एकजुट हुनुपर्ने उनको भनाइ थियो ।

सन्तोष सुवेदी/संगालोखबर 













