
इलाम । वैदेशिक रोजगारीका लागि दुबई गएको दुई महिनामै इलामको सूर्याेदय नगरपालिका-७ गोगनेका ३५ वर्षीय लेखनाथ खतिवडाको निधन भएको छ ।
पारिवारिक आर्थिक अवस्था सुधारको सपना बोकेर विदेश गएका उनी पुगेको एक महिनामै बिरामी परेका थिए । खतिवडा गत जेठ ५ गते मात्रै दुबईस्थित ‘एफजेठ मास्ट इन्जिनियरिङ कम्पनी’मा काम गर्न पुगेका थिए ।
तर उनी असार ८ गतेदेखि एक्कासि सिकिस्त बिरामी भए । सुरुमा सेतो रक्तकोषको असामान्य कमी देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।
उपचारका क्रममा उनलाई निमोनियासमेत देखियो । स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएपछि उनलाई आईसीयूमा राखिएको थियो । भेन्टिलेटरमा राखेर केही दिन उपचार गरिए पनि अन्ततः असार २८ गते उनको मृत्यु भएको परिवारले जनाएको छ ।
दाजु लीलाधर खतिवडाका अनुसार उपचार खर्च अत्यन्तै महँगो भएकाले आमसञ्चार र सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरिएको थियो । पनि उनलाई बचाउन सकिएन ।
दुबईको ‘एआई रोसिड अस्पताल’मा प्राण त्यागेका लेखनाथको शव स्वदेश ल्याइएपछि शुक्रबार गोगनेस्थित शुद्धिखोलामा अन्त्येष्टि गरिएको परिवारले जनाएको छ । धन कमाएर स्वदेश फर्कने सपना बोकेर गएका उनी बाकसमा फर्किएका छन् ।

संगालोखबर 













