
धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका, महालक्ष्मी नगरपालिका र तेह्रथुमको छथर शुक्रबारे गाउँपालिकाका दुग्ध उत्पादक संस्थाहरूलाई ढुवानीसहितका विभिन्न सामग्री वितरण गरिएको छ ।
आज आठ ओटा दुग्ध उत्पादक संस्थाहरूलाई आवश्यक ढुवानी गर्ने सामाग्री र उपकरण वितरण गरिएको हो ।
छथर जोरपाटी गाउँपालिका-१ मा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्था, वडा नम्बर ६ मा रहेका सगरमाथा दुग्ध चिस्यान तथा वितरण सहकारी संस्था, सरस्वती दुग्ध उत्पादक समूह, सिंहदेवी दुग्ध उत्पादन सहकारी संस्था र माउन्ट मकालु डेरी प्रोडक्सलाई आवश्यक सामग्री प्रदान गरिएको हो ।
यस्तै महालक्ष्मी नगरपालिका-९ का विश्व शान्ति बहुउद्देश्यीय सहकारी संस्था, पञ्चेश्वर दुग्ध उत्पादक समूह र सिद्वकाली कृषि सहकारी संस्था तथा तेह्रथुमको छथर शुक्रबारे-६ को लालीगुँरास दुग्ध उत्पादक सहकारी संस्थालाई सामग्री वितरण गरिएको हो ।

पूर्वमन्त्री तथा सङ्घीय सांसद राजेन्द्रकुमार राईले सहकारी संस्थाहरूलाई एकमुष्ट तीन लाख ५० हजार मूल्य बराबरको सामग्री प्रदान गरेका हुन् । उनले सगरमाथा दुग्ध चिस्यान तथा वितरण सहकारी संस्थाका अध्यक्ष भद्रबहादुर विष्टलाई सामग्री हस्तान्तरण गरेका थिए ।
सामग्रीहरूमा ४० लिटरको क्यान २२ वटा, दुई सय वटा कुर्सी र ३ वटा सेन्ट्री फ्युज मेसिन छन् । सगरमाथा दुग्ध चिस्यान तथा वितरण सहकारी संस्थामार्फत अन्य संस्थालाई सामग्री उपलब्ध गराइएको छ ।
सङ्घीय सांसद राईले ढुवानी र व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले आफ्नो पहलमा सामाग्री वितरण गरेको बताए । उनले आवश्यक परेको खण्डमा थप सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

सन्तोष सुवेदी/संगालोखबर 













