
पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका-५ घुर्बिसेमा निर्माणाधीन सेफ्टी ट्याङ्कीमा काम गर्ने क्रममा एक मजदुरको मृत्यु भएको छ । प्रहरीका अनुसार बेहोस भएका तीन जनामध्ये फाल्गुनन्द गाउँपालिका-५ का ३८ वर्षीय रत्न चेम्जोङको मृत्यु भएको हो ।
सोही ठाउँका २४ वर्षीय भीष्म चेम्जोङ र ४० वर्षीय बिरू चेम्जोङ बेहोस छन् । उनीहरूको झापास्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रूपेश तामाङले संगालोखबरलाई जानकारी दिए ।
उनीहरू बुधबार साँझ अन्दाजी ५ः२० बजे घुर्बिसे पञ्चमी सहकारी संस्थाको निर्माणधीन सेफ्टी ट्याङ्कीमा काम गर्ने क्रममा बेहोस भएका थिए । घटनाको जानकारी पाउनसाथ खटिएको प्रहरी टोलीले उनीहरूलाई उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल इलाम पठाएको थियो ।
एक जना मजदुर बेहोस भएपछि उनलाई निकाल्न जाने क्रममा अरु दुई जना पनि बेहोस भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

संगालोखबर 













