
इलाम । इलाममा छुरी प्रहारबाट एक जनाको हत्या भएको छ । प्रहरीका अनुसार सूर्योदय नगरपालिका-१ का २३ बर्षीय प्रकाश चापागाईँको हत्या भएको हो ।
आइतबार राति करिब १० बजे सूर्योदय नगरपालिका-२ का ३३ वर्षीय किरण शेर्पासँग विवाद हुँदा उनीमाथि छुरी प्रहार भएको प्रहरीले जनाएको छ ।
‘प्रकाश दाइ निरोज चापागाईँसँग ससुराली आउनुभएको रहेछ’, जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी निरीक्षक संजिव बोगटीले संगालोखबरसँग भने, ‘ससुराली नजिकै किरणसँग भेट भएछ । मादक पदार्थ सेवन पछि किरणले निरोजलाई छुरी हानेको पाइयो ।’
छुरी प्रहारबाट निरोजको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक बोगटीले जानकारी दिए । निरोज पनि घाइते भएका छन् । उनको बिर्तामोडस्थित बीएण्सी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
उनीहरूको पुरानै चिनजान भएको हुनसक्ने प्रहरीको अनुमान छ । किरणलाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरिएको बोगटीले जानकारी दिए ।

संगालोखबर 













