नम्रता न्यौपाने/संगालोखबर


विराटनगर । विराटनगरका रोनक अग्रवाल, जो सानैदेखी फेसनमा रूची राख्दथे । जुन सपना बुनेका थिए, त्यसैलाई पछ्याउँदै मेहनत गर्दै जाँदा आज उनले ठूलो फड्को मार्न सफल भएका छन् ।

उनको अर्को उपलब्धि भनेको पुनः मिस्टर नेपालको कोशी प्रदेश क्षेत्रीय निर्देशकमा नियुक्त हुनुपनि हो । यहाँसम्म आउनुमा उनको संघर्ष पनि कम छैन ।

Advertisement

सन् २०१५ मा पहिलोपटक एक स्थानीय सौन्दर्य प्रतियोगितामा फेसन इभेन्ट म्यानेजरको रूपमा पहिलो पाइला राखेका थिए । त्यो पनि उनका लागि एक महत्वपूर्ण अवसर थियो । उनको यही सुरुवातले कोशी प्रदेशको फेसन क्षेत्रमा ठूलो परिवर्तन ल्याएको छ ।

‘त्यो पहिलो इभेन्ट मेरो लागि मोड दिने क्षण थियो’, अग्रवाल सम्झन्छन्, ‘त्यसपछि विभिन्न कार्यक्रमहरूमा सहभागी हुन अवसर जुट्यो । विराटनगरदेखि झापा, सुनसरी र मोरङका अन्य स्थानका कार्यक्रममा पनि सहभागिता जनाउने मौका मिल्यो । त्यसले मेरो अनुभव, सम्पर्क र आत्मविश्वासमा बढावा दियो ।’

उनलाई स्थानीय अनुभवले राष्ट्रिय स्तरमा पुर्याउन महत्वपूर्ण योगदान दियो । लगातारको मेहनत, प्रतिभामाथि विश्वास र दृढ संकल्पले राष्ट्रिय आयोजकहरूको ध्यान अग्रवालले तान्न सफल भए ।  जसले उनलाई प्रशिक्षक, सल्लाहकार र निर्णायकको रूपमा देशका प्रतिष्ठित फेसन तथा पेजेन्ट मञ्चहरूमा उभ्याउन सफल भयो ।

‘हरेक प्रतियोगिताले मलाई केही नयाँ कुरा सिकायो’, उनी भन्छन्, ‘त्यो केवल इभेन्ट व्यवस्थापन मात्र थिएन । म धेरै युवाहरूको सपना गढ्ने जिम्मेवारी लिइरहेको थिएँ । आज त्यो सपना पूरा हुँदैछ ।’

अग्रवाल कोशी प्रदेशकै माटोबाट उठेका ऊर्जावान् युवा हुन् । अथक मेहनत र प्रयासका कारण उनी अन्तर्राष्ट्रिय स्तरसम्म पुगेका छन् । उनले १५० भन्दा बढी सौन्दर्य प्रतियोगिता र फेसन सोहरूमा सक्रिय सहभागिता जनाइसकेका छन् भने सयौँ युवाहरूलाई प्रशिक्षण दिइसकेका छन् ।

सन् २०२३ मा नागाल्याण्डको कोहिमामा आयोजित एक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा अग्रवाल निर्णायकको रूपमा सहभागी हुँदै अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो छाप छोड्न सफल भए । ‘मेरो यात्रा केवल टाइटल जिताउने मात्र होइन, त्योभन्दा धेरै ठूलो उद्देश्य हो’, उनले भने, ‘कोशी प्रदेशमै रहेर यहाँको प्रतिभालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने मेरो चाहना र योजना हो ।’

फेसन उद्योगलाई संरचित बनाउने, आधारभूत तहदेखि प्रतिभा निखार्ने र कोशी प्रदेशलाई नेपालको फेसन हब बनाउनेमा आफू सँधै तल्लीन रहेको उनको भनाइ छ । २०२२ देखि २०२४ सम्म लगातार तीन वर्ष मिस्टर नेपालको प्रतियोगितामा कोशी प्रदेशका प्रतिनिधिहरूलाई राष्ट्रिय स्तरमा चिनाउन उनले महत्वपूर्ण भुमिका निर्वाह गरेका छन् । जसले नव प्रतिभाहरूलाई प्रेरणा दिएको छ ।

आगामी दिनहरूमा प्रदेशको फेसन क्षेत्रमा नयाँ युग सुरु गर्ने उनको योजना छ । स्थानीय मोडलहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एजेन्सीसँग जोड्ने नेटवर्किङ प्लेटफर्म स्थापना गर्ने र अवसर प्रदान गर्ने उनी बताउँछन् ।

उनले फेसन डिजाइनर, फोटोग्राफर, स्टाइलिस्टहरूजस्ता विभिन्न पेसेवरहरूसँग सहकार्य गर्दै कोशी प्रदेशमै बलियो फेसन इकोसिस्टम निर्माण गर्ने योजना अघि सारेका छन् ।

अग्रवालको पुनः नियुक्तिसँगै आगामी मिस्टर नेपाल संस्करणहरूमा कोशी प्रदेश प्रति फेरि एकपटक उच्च आशा गरिएको छ । उनले पनि सोही अनुसार आफू अघि बढ्ने बताएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!