
धनुषा । मधेश प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको छ । पानी नपर्दा धान रोपाइँमा समस्या भएको र धान रोपिएका खेतमा पनि धाँजा फाट्न थालेको भन्दै सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको हो ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहका अनुसार प्रदेश सरकार मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको हो । बैठकले सुक्खाग्रस्त मधेश प्रदेशका किसानका लागि आवश्यक विशेष राहत प्याकेज घोषणा गर्न सङ्घीय सरकारसँग आग्रह गर्ने निर्णयसमेत गरेको छ ।
यस्तै कृषि क्षेत्रमा क्रियाशील दातृ निकायहरूलाई पनि आवश्यक सहयोग गर्न प्रदेश सरकारले आह्वान गरेको छ । मन्त्रिपरिषद्को बैठकले पर्साको वीरगञ्जसहित मधेश प्रदेशका विभिन्न जिल्लामा देखिएको खानेपानी सङ्कट समाधानका लागि आवश्यक स्रोतसाधन परिचालन गर्ने निर्णय गरेको छ ।
खानेपानी सङ्कट समाधानमा आवश्यक सहयोग गर्न सङ्घीय खानेपानी मन्त्रालयलाई आग्रह गर्दै ट्याङ्करसहितका विभिन्न माध्यमबाट पानीको आपूर्ति मिलाउने निर्णय समेत मन्त्रिपरिषद्ले गरेको छ ।

संगालोखबर 













