संगालोखबर


विराटनगर । तेह्रथुमका किसानले व्यवसायिक रूपमा सिस्नु खेती थालेका छन् । सिस्नुको माग बढेपछि लालीगुराँस नगरपालिका-१ स्थित चैते सामुदायिक वनमा यसको व्यवसायिक खेती सुरु गरिएको हो ।

सामुदायिक वनको तीन सय ६५ हेक्टरमध्ये एक हेक्टरमा सिस्नुका बिरुवा लगाउने योजना रहेको उपभोक्ता समितिले जनाएको छ ।

Advertisement

डिभिजन वन कार्यालयमार्फत प्रदेश सरकारको जडीबुटी विकास तथा व्यवस्थापन कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा १० लाख मूल्य बराबरको सिस्नु प्रशोधन गर्ने मेसिन अनुदानमा चैते सामुदायिक वनले प्राप्त गरेको छ । आगामी साउनदेखि उक्त मेसिन सञ्चालन गरी सिस्नुको धुलो बजारमा ल्याउने योजना छ ।

गुराँसको राजधानी तीनजुरे-मिल्के-जलजले (टिएमजे) क्षेत्रको तीनजुरे लालीगुराँस नगरपालिकामा पर्छ । लालीगुराँस नगरपालिकाको वसन्तपुरमा पर्यटकको चहलपहल भइरहन्छ । जसमा पर्यटकको रोजाइमा सिस्नु पर्ने गरेको होटल व्यवसायीहरू बताउँछन् ।

अहिले स्थानीय होटलहरूले प्रतिमुठा २५ देखि ३० रुपैयाँमा सिस्नु किन्ने गरेका छन् । स्थानीयले निजी जग्गा र जङ्गलमा उम्रिएको सिस्नु टिपेर होटलमा बेच्ने गरेका छन् ।

लेकको पात्ले सिस्नु स्वादिष्ट हुने भएकाले यसको माग बढेको हो । लालीगुराँस नगरपालिका क्षेत्रमा प्रशस्त सिस्नु उत्पादन हुने भएकाले सामुदायिक वनलाई सिस्नु प्रशोधन मेसिन उपलब्ध गराउन पहल गरेको जिल्ला समन्वय समितिले जनाएको छ ।

सिस्नुको व्यावसायिक खेती गर्न तथा यसको धुलोको ‘लेबलिङ र प्याकेजिङ’मा ध्यान दिई गुणस्तरीय उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारमा पुर्याउने प्रयास भइरहेको लालीगुराँस नगरपालिकाले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!