
धनकुटा । धनकुटा नगरपालिका-७ स्थित जीरोप्वाइन्टबाट सरकारी मोटरसाइकलमा सवार एक कर्मचारी लागूऔषधसहित पक्राउ परेका छन् । मंगलबार दिउँसो करिब २ बजे पाख्रीबास नगरपालिकामा कार्यरत कर्मचारी मिगुर शेर्पा लागूऔषधसहित पक्राउ परेका हुन् ।
पाख्रीबास नगरपालिका-४ घर भएका शेर्पा हाल नगरपालिकामा स्थायी कर्मचारी हुन् । उनी एसिस्टेन्ट सब इन्जिनियरका रूपमा पाख्रीबास नगरपालिकामा कार्यरत रहेको खुलेको छ ।
धनकुटाको फोक्लेण्डटापुबाट को १ ब ११०३ नम्बरको मोटरसाइकलमा धनकुटातर्फ आउँदै गर्दा पक्राउ परेका धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ट्रामाडोल २२ क्याप्सुल र डाइसाइक्लोमाइन २२ ट्याब्लेट बरामद भएको खनालले जानकारी दिए ।
उनका अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब निरीक्षक मनोज खड्काको कमान्डमा खटिएको प्रहरी टोलीले उनलाई चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा उक्त मोटरसाइकल पाख्रीबास नगरपालिकाको रहेको खुलेको थियो । उनलाई सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनकुटाले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सन्तोष सुवेदी/संगालोखबर 













