
विराटनगर । विराटनगर महानगरपालिकाले भोलि बुधबार र बिहीबार कोरोना भाइरस विरुद्धको फाइजर खोप अभियान सञ्चालन गर्ने भएको छ ।
पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण बढ्न थालेसँगै महानगरपालिकाले ५५ वर्षमाथिका सबै र १२ वर्षमाथिका दीर्घरोगीलाई खोप लगाउने जनाएको छ ।
यसैगरी हालसम्म खोप नलगाउने, बुस्टर डोज नलगाउने र प्रत्यक्ष जनसम्पर्क हुने स्थानमा कार्यरत राष्ट्रसेवक कर्मचारी र अन्य जोखिममा रहेका व्यक्तिहरूलाई लक्षित गरेर खोप अभियान चलाउन लागिएको महानगरका स्वास्थ्य संयोजक दिलीप कुमार यादवले जानकारी दिए ।
महानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार विराटनगरमा पछिल्लो समय चार जनामा सङ्क्रमण पुष्टि भएको छ । जसमा विराटनगर-२ का दुई, ९ र १६ का एक/एक जना छन् । महानगरको स्वास्थ्य शाखाले सङ्क्रमितको सङ्ख्या कम भएपनि आवश्यक सर्तकता अपनाउन आग्रह गरेको छ ।

संगालोखबर 













