
विराटनगर । रसुवाको गोसाइकुण्ड गाउँपालिका-२ रसुवागढीमा आएको बाढीमा बेपत्ता हुनेको संख्या १८ पुगेको छ । बेपत्ता हुनेमा तीन प्रहरी, ९ जना नेपाली कामदार र ६ जना चिनियाँ कामदार रहेका प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय टिमुरेबाट उद्धारमा खटिएका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवानहरू मुन्ना ठाकुर र लोकेन्द्र बोहरा सम्पर्कविहीन भएका हुन् ।
बाढीमा फसेका ९ जनाको भने उद्धार भएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बलका एक जना, नेपाल प्रहरीका एक जना र सात जना स्थानीयलाई उद्धार गरिएको रसुवा प्रहरीले जनाएको छ ।
बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल पूर्णरूपमा क्षति भएको र आगत-जावत बन्द भएको प्रहरीले जनाएको छ । गोसाइकुण्ड गाउँपालिका-२ मा रहेको विद्युतीय सबारीसाधन चार्जिङ स्टेसनमा पनि क्षति पुगेको छ ।
यस्तै बाढीले ७/८ वटा विद्युतीय गाडी बगाएको र भन्सार कार्यालयको यार्डमा क्षति पुर्याएको छ । उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको छ ।

संगालोखबर 













