सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । कोशी प्रदेशकै एकमात्र निजामती आवासीय विद्यालय धनकुटालाई प्रदेशकै उत्कृष्ट बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

शुक्रबार विद्यालयको शैक्षिक गुणस्तर विकासका लागि मार्गचित्रसहितको प्रतिवेदन तयारी गर्ने सम्बन्धमा प्रारम्भिक प्रतिवेदन तथा छलफल कार्यक्रममा सरोकारवालाहरूले उत्कृष्ट बनाउनुपर्नेमा जोड दिएका हुन् ।

Advertisement

शिक्षा विकास निर्देशनालय कोशी प्रदेश धनकुटाको संयोजन तथा त्रिभुवन विश्वविद्यालय शिक्षा विकास तथा अनुसन्धान केन्द्र काठमाडौंको सहयोगमा भएको कार्यक्रममा विभिन्न विषयमा छलफल भएको छ ।

छलफलका क्रममा विद्यालयको भौतिक संरचना सुधार, छात्र तथा छात्रावास सुविधा विस्तार, प्रविधिमा आधारित शिक्षण, दक्ष जनशक्ति अभिवृद्धि, बालमैत्री वातावरण निर्माण र समुदाय सहभागिता वृद्धि गर्नुपर्ने विषयहरूमा विशेष जोड दिइएको थियो ।

यस्तै विद्यालयलाई कोशी प्रदेशकै नमूना र उत्कृष्ट बनाइ नेपाल भरीबाट विद्यार्थीहरू पढ्न आउने वातावरण बनाउनुपर्नेमा स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूले जोड दिए ।

यसैगरी विद्यालय छाडेका विद्यार्थीहरू अहिले कुन अवस्थामा छन् ? कस्तो प्रगति गर्दैछन् ? त्यो पनि सर्वेक्षण गर्न आवश्यक रहेको उनीहरूको भनाइ थियो । निजामतीमा पढाउने शिक्षक तथा शिक्षिकाका छोराछोरीलाई पनि बोर्डिङमा नभई सोही विद्यालयमा अध्ययन गराउनु पर्नेमा उनीहरूले जोड दिए ।

जिल्ला समन्वय समितिका प्रमुख निरन तामाङले प्रदेश सरकारले जुन उद्देश्यले विद्यालय स्थापना गरेको हो सोही अनुरूप अगाडि बढ्नुपर्ने बताए । यस विद्यालयलाई प्रदेशकै नमुना बनाउन आवश्यक रहेको उल्लेख गर्दै उनले देशभरका विद्यार्थी पढ्न आउने वातावरण बनाउनुपर्नेमा जोड दिए ।

विद्यालयको शैक्षिक अवस्था, भौतिक पूर्वाधार, मानव संसाधन, विद्यार्थीको सिकाइ उपलब्धि, समावेशिता, पहुँच र व्यवस्थापन लगायतका पक्षमा विस्तृत अध्ययन गरी तयार पारिएको प्रारम्भिक प्रतिवेदन त्रिभुवन विश्वविद्यालयका प्रा. डा. विनोद लुइँटेल र प्रा.डा. कमलकुमार पौडेलले प्रस्तुत गरका थिए ।

सो प्रतिवेदनमा विद्यालयको वर्तमान अवस्था मूल्याङ्कन गर्दै आवश्यक सुधारका क्षेत्र पहिचान साथै विद्यालयमा दीर्घकालीन मास्टर प्लान, अनुमानित लागत, कार्यान्वयन रणनीति, प्राथमिकताका आधारमा परियोजनाहरूको अनुक्रम र आवश्यक सहयोग संयन्त्रहरू उल्लेख गरिएको थियो ।

प्रतिवेदनमा समावेश प्रस्तावमाथि सहभागीहरूले महत्वपूर्ण सुझाव र धारणा व्यक्त गरेका थिए । कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, विद्यार्थी, शिक्षाविद् तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!