
धनकुटा । धनकुटामा अमेरिकन फौजी कीराको प्रकोप देखिएको छ । मकैबाली लगायत हरियो सागसब्जीमा फौजी कीराको प्रकोप फैलिएपछि किसानहरू चिन्तित भएका छन् ।
अमेरिकी फौजी कीरा ६ वर्षअघि अमेरिका, अफ्रिका, भारत हुँदै नेपाल आइपुगेको हो । नेपालको तराइ र पहाड क्षेत्रको मौसम फौजी किराका लागि उपयुक्त रहेको विज्ञहरू बताउँछन् ।
फौजी किराले धनकुटामा वर्षेनी मकैबाली लगायत हरियोबालीमा असर गर्दै आएको छ । किराको आक्रमणबाट मकैको बोट सुक्ने र ढल्ने गरेको महालक्ष्मी नगरपालिकाका कृषक नारद कटुवालले बताए । विषादी छर्किंदा समेत फौजी किराको रोकथाम हुन नसकेको उनको भनाइ छ ।
घाम झुल्किएपछि नअस्ताएसम्म लुकेर बस्ने फौजी किराले मकैको पातमा पसेर गाबो रातारात खाने गरेको उनी सुनाउँछन् । फौजी कीरो दिनभर सुस्त अवस्थामा बस्ने र रात परेपछि सक्रिय हुने गर्दछ ।
किराको आक्रमण तीब्र फैलिएपछि मकैका कलिला बोट सुक्न थालेका अर्का कृषक पुष्प कार्कीले बताए । धनकुटाका धेरै स्थानमा फौजी कीरा फैलिएपछि कृषकहरू मारमा परेका छन् ।

हरेक वर्ष किराको प्रकोप हुने गरेको बताउँदै उनले नगरपालिका र कृषि ज्ञान केन्द्र धाउँदा समेत दीर्घकालीन समस्या समाधानमा सम्बन्धित निकायले चासो नदेखाएको उल्लेख गरे ।
कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार फौजी किराको सङ्क्रमण वर्षा कम हुँदा बढी हुने गरेको छ । गतवर्षको तुलनामा यसवर्ष फौजी किराको सङ्क्रमण कम भएको ज्ञान केन्द्रको भनाइ छ ।
फौजी कीराको जोखिम देखा परेको ठाउँमा किसानहरूलाई ज्ञान केन्द्रले स्थानीय तहमार्फत विषादी वितरण गर्ने गरेको र स्थानीय तहले पनि आफैँ विषादी वितरण गर्दै आएको ज्ञान केन्द्रका प्रमुख नगेन्द्र रानाले बताए ।
धनकुटामा १३ हजार चार सय ७० हेक्टर क्षेत्रफलमा मकै खेती हुँदै आएको ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ । तर, पछिल्लो समय जङ्गली जनावर, विभिन्न रोगकीरा र बसाइँसराइ लगायतका कारणले मकै खेती गर्ने कृषकको सङ्ख्या घट्दो छ ।

सन्तोष सुवेदी/संगालोखबर 













