संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-३ लिङखिमस्थित सिस्ने खोलानजिकै खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ । मंगलबार राति फुङलिङ नगरपालिका-६ उकाली पानीका ३२ वर्षीय अर्जुन गुरुङले खुकुरी प्रहार गर्दा पक्तालुङ-३ का २८ वर्षीय तेजेन्द्र लिम्बुको मृत्यु भएको हो ।

प्रहरीका अनुसार अर्जुन गुरुङ र उनकी श्रीमती सरिता लिम्बु फक्ताङलुङ–३ तावास्थित फुपु योगमाया लिम्बूको घरमा पाहुना गएका थिए । त्यहाँ अर्जुन र सरिताबीच सामान्य विवाद भएको थियो ।

Advertisement

योगमायाले उनीहरूलाई सम्झाएर छिमेकी तेजेन्द्रको साथ लगाएर घर पठाएकी थिइन् ।  फर्कने क्रममा सिस्ने खोलानजिकै अर्जुनले अचानक तेजेन्द्रमाथि खुकुरी प्रहार गर्दा उनको बायाँ कोखमा गम्भीर चोट लागेको थियो ।

प्रहरीका अनुसार खुकुरी प्रहारबाट तेजेन्द्रको घटनास्थलमै मृत्यु भएको हो । फक्ताङलुङ-३ का वडाध्यक्ष आइतराम लिम्बुले राति नै घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए । त्यसपछि प्रहरी नायब निरीक्षक विमलकुमार श्रेष्ठको टोली घटनास्थल पुगेको थियो ।

खुकुरी प्रहार गर्ने अर्जुन गुरुङ हतियारसहित फरार छन् भने श्रीमती सरिता पनि सम्पर्कविहीन बनेकी छन् । प्रहरी घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!