
विराटनगर । ओखलढुङ्गामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । खिजीदेम्वा गाउँपालिका-८ रावा टोलमा ट्रान्सफर्मर चार्ज गर्ने क्रममा करेन्ट लाग्दा कैलालीका ३० वर्षीय दयाराम चौधरीको मृत्यु भएको हो ।
सिग्माकोण प्रालि काठमाडौंको ठेक्कामा रहेको ट्रान्सफर्मरमा चार्ज गर्ने क्रममा उनलाई करेन्ट लागेको ओखलढुङ्गा प्रहरीका प्रवक्ता इन्स्पेक्टर विक्रमबहादुर भट्टराईले संगालोखबरलाई जानकारी दिए । चौधरी सिग्माकोण कै कर्मचारी हुन् ।
उनको घटनास्थलमै मृत्यु भएको र शव ट्रान्सफर्मरमै झुण्डिएको थियो । आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोष्टमार्टमका लागि आज बिहान जिल्ला अस्पताल रामेछाप पठाइएको उनले जानकारी दिए ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 













