
विराटनगर । ताप्लेजुङको पाथीभरा क्षेत्रमा सोमबार जिपमा आगलागी हुँदा ज्यान गुमाएकाहरूको शव परिवारले बुझेको छ । विद्युतको तार लत्रिएर जिपमा छुँदा आगलागी भएपछि एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको थियो ।
प्रहरीका अनुसार झापा भद्रपुरका विनोद पौडेल, सरिता पौडेल र ललितपुरकी आध्या आचार्यको शव विनोदका भाइ महेश पौडेलले बुझेका छन् । उनीहरूको आज झापाको भद्रपुरमा अन्त्येष्टि गरिने जनाइएको छ । आमा सविना पौडेलको काठमाडौंमा उपचार भइरहेकाले ललितपुर निवासी आध्याको पनि झापामा नै अन्त्येष्टि गर्न लागिएको आफन्तले जनाएका छन् ।
जिप चालक ताप्लेजुङको फुङलिङका दुर्गा भट्टराईको शव पनि परिवारले बुझेको छ । उनको पनि अन्त्येष्टि फुरुम्बुको सिस्ने दोभान घाटमा आजै गर्ने परिवारका सदस्यले जनाएका छन् । भट्टराईको आज बिहान र अन्यको हिजो बेलुका जिल्ला अस्पतालमा पोष्टमार्टम गरिएको थियो ।
पाँचजना यात्रु लिएर पाथीभरा जाँदै गरेको जिपमा विद्युतीय करेन्ट लागेर आगलागी हुँदा चालकसहितका चार जनाको घटनास्थलमै जलेर मृत्यु भएको थियो । एक जना सख्त घाइते हुँदा एक बालकको अवस्था सामान्य छ ।

संगालोखबर 













