सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकाले नवौं स्थापना दिवस मनाएको छ । ‘कृषि पर्यटन र पूर्वाधार, साँगुरीगढी समृद्धिको आधार’ भन्ने मूल नाराका साथ मङ्गलबार गाउँपालिकाले स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई गरिएको छ । पालिकाले सेवा निवृत्त १६ जना शिक्षकसँगै एसइईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरूलाई सम्मान गरेको हो ।

Advertisement

यसैगरी वडा नम्बर १, ९ र १० को वडा कार्यालय भवन निर्माण गर्न जग्गा प्रदान गर्ने जग्गादाता क्रमशः तिलबहादुर लिम्बु, त्रिमान लिम्बु, सुकबहादुर लिम्बु र कुमारी लिम्बु, तथा हरि भट्टराई र पूर्णप्रसाद राईलाई सम्मान गरिएको छ ।

यस्तै १, ३, ४ र १० नम्बर  वडाको स्वास्थ्य चौकी भवन निर्माण गर्न जग्गा उपलब्ध गराउने जग्गादाता क्रमशः फिपबहादुर लिम्बु, तीर्थबहादुर लिम्बु तथा मनरानी लिम्बु, कुलप्रसाद लिम्बु र बलबहादुर राईलाई सम्मान गरिएको हो । यस्तै पत्रकार हरिबहादुर लम्जेल नगद २५ हजारसहित सम्मानित भए ।

गाउँपालिकाले उत्कृष्ट कर्मचारी माया राई, लक्ष्मी चौधरी, दीपक राई र नगरप्रहरी सोम राईलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरेको छ । खेलको माध्यमबाट पालिकालाई चिनाउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक डिपलक राई पनि २५ हजार नगदसहित सम्मानित भए ।

पालिकामा सबैभन्दा बढी विद्यार्थीलाई उत्तीर्ण गराउन सफल भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक यज्ञ राईलाई पनि नगद २५ हजार रुपैयाँसहित सम्मान गरिएको छ । गतवर्षको एसइई परीक्षामा ३.८६ अंक ल्याएर उत्तीर्ण हुने सिंहकाली भानु माध्यमिक विद्यालयका छात्र रिकेश रिजाल नगद १५ हजार रुपैयाँसहित सम्मानित भए ।

उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरन तामाङ, गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राई, उपाध्यक्ष मुना राई लगायतले सम्मान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि तामाङले स्वास्थ्य, शिक्षा, विकास निर्माण र कृषि क्षेत्रलाई अगाडि बढाउन गाउँपालिकामा प्रयाप्त काम भइरहेको बताए । सिँचाइका लागि गाउँमा कुलो खन्ने कामसँगै पानीको समस्या समाधान गर्न विभिन्न काम भइरहेको उल्लेख गरे । यस्तै १५ बेडको स्वास्थ्य चौकी निर्माण भइरहेको उनको भनाइ थियो ।

उनले पर्यटन क्षेत्रमा लगानी बढाउन सके अर्थोपार्जनमा टेवा पुग्ने बताए । साँगुरीगढी पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएकाले यसतर्फ पनि ध्यान दिनुपर्नेमा उनको जोड थियो । उनले आगामी दिनमा थप उत्कृष्ट काम गर्न विगतमा गरेका कामलाई मूल्याङ्कन गर्दै अघि बढ्नुपर्ने बताए ।

तस्बिर : सन्तोष सुवेदी/संगालोखबर

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!