
धनकुटा । धनकुटामा सीमान्तकृत माझी समुदायले लदी पर्व मनाएका छन् । मङ्गलबार तमोर र कोशी नदी किनारमा विशेष पुजा गरेर भव्य रूपमा माझी समुदायले लदी पर्व मनाएका हुन् ।
कोसी पुजा समेत भनिने यो पर्व माझी समुदायको सबैभन्दा ठूलो पर्व हो । चैबिसे गाउँपालिका-४ स्थित भैँसेटार र साँगुरीगढी गाउँपालिका-३ स्थित कुशेटारका माझी समुदायले लदी पर्व मनाएका हुन् । नदी किनारमा बोकाको बली दिएर डुङ्गा, माछा मार्ने जाल, फूगी लगायतको पुजा गर्दै उनीहरूले पर्व मनाएका छन् ।

आफ्नो रीतिथिति कला संस्कृतको जगेर्ना गर्ने उद्देश्यले लदी पर्व मनाउने गरिएको नेपाल माझी उत्थान सङ्घका अध्यक्ष राजन माझीले बताए । हरेक वर्ष फागुन महिनाको तेस्रो मङ्गलबार माझीहरूले यो पर्व मनाउँदै आएका छन् ।
माझीहरूले तेस्रो मङ्गलबारलाई ‘साइली’ मङ्गलबार पनि भन्ने गरेका छन् । उनीहरूले यो दिनलाई शुभ दिनको रूपमा लिन्छन् । उनीहरूले आफ्नो कलासंस्कृति झल्कने नृत्य प्रस्तुत गर्दै मनोरञ्जन गरेका थिए ।

माझी भाषामा लदी भनेको कोसी हो । मान्छेलाई डुङ्गाबाट नदी तार्दा दुर्घटना नहोस् भन्ने कामना गर्दै यो पर्व मनाउने गरेको स्थानीय लालमान माझीले बताए । सोही अवसरमा चौबिसे गाउँपालिका-४ स्थित तमोर किनार क्षेत्रका केही विद्यालयहरूमा सार्वजनिक बिदा दिएको थियो ।







सन्तोष सुवेदी/संगालोखबर 













