विराटनगर । राजविराज नगरपालिका-९ स्थित बाबा भुतनाथ मन्दिर नजिकैबाट प्रहरीले ठूलो परिणाममा गाँजा बरामद गरेको छ । स्थानीय एक घरमा गोदाम बनाएर राखिएको अवस्थामा गाँजा बरामद गरिएको हो ।
सप्तरी प्रहरीका एसपी ढकेन्द्र खतिवडाका अनुसार एक सय बढी बोरामा पोको बनाएर राखेको अवस्थामा गाँजा फेला परेको छ । गोदाममा शङ्कास्पद सामग्री अनलोड गरेको देखेपछि चेकजाँच गर्दा गाँजा भेटिएको एसपी खतिवडाले जानकारी दिए ।
गोदामका सञ्चालक फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । गोदामभित्र सिट नभएको एउटा स्कारपियो गाडी पनि फेला परेको छ । गाँजासँगै गोदाममा अन्य वस्तुहरू रहेको र यकिन गर्ने कार्य भइरहेको एसपी खतिवडाले जानकारी दिए ।
उक्त गोदामबाट चिनियाँ स्याउ लगायत अन्य सामान पनि तस्करी हुने गरेको आशङ्कामा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।