विराटनगर । काठमाडौं मेडिकल कलेज (केएमसी) मा स्याङ्जाका विपन्न विपन्न बिरामीहरूको निःशुल्क उपचार हुने भएको छ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङको अनुरोधमा केएमसीका प्रोपाइटर एवं सांसद डा. सुनिल शर्माले निःशुल्क उपचारको व्यवस्थापन मिलाइदिएका हुन् ।
आगामी चैत्र ४ गते काठमाडौं मेडिकल कलेज सिनामंगलमा स्याङ्जाका विपन्न बिरामीहरूका लागि अप्रेसन र बेड चार्ज तथा रगत जाँच, सिटी स्क्यान, एमआरआई लगायतका सेवा निःशुल्क प्रदान गरिने जनाइएको छ । औषधि, औषधिजन्य सामग्री र खानाको व्यवस्था भने आफैँले गर्नुपर्नेछ ।
विपन्न बिरामीहरूले सेवा लिनका लागि स्थानीय अस्पतालमा जाँच गराएर शल्यक्रिया गर्नु पर्ने भएमा वा अस्पतालमै भर्ना गरी थप उपचार गर्नु पर्ने भए रेफर लिएर आउनुपर्ने जनाइएको छ ।
यस्तै स्वास्थ्य बीमामा आबद्ध भएका बिरामीहरूले बीमाको रेफर कागज पनि लिएर आउनुपर्ने केएमसीले जनाएको छ । उनीहरूको उपचारको लागि सहजिकरण गुरुङको सचिवालयले गर्नेछ ।
शर्माले हजारौं बिरामीहरूलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइसकेका छन् । यो अभियानबाट स्याङ्जाका धेरै बिरामी लाभान्वित हुने जनाइएको छ ।