विराटनगर । सिद्धार्थ बैँक लिमिटेडले मधेश प्रदेशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । वित्तीय साक्षरता प्रवर्द्धन गर्ने उद्देश्यले मधेश प्रदेश अन्तर्गत बारा र पर्सा जिल्लामा कार्यक्रम सञ्चालन गरेको हो ।
विशेष गरि बैँकले विप्रेषण प्रापक र सम्भावित वैदेशिक रोजगारीमा जानेलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बाराको जितपुर सिमरा उप-महानगरपालिका-१५ स्थित डुमरवानामा २१ माघमा र पर्साको वीरगञ्ज महानगरपालिका-३१ बेलवास्थित नौकाटोलामा २२ माघमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको बैँकले जनाएको छ ।
बिफक्याप नेपालको व्यवस्थापनमा सञ्चालन गरिएको वित्तीय साक्षरता कार्यक्रममा डुमरवानामा ५१ जना र नौकाटोलामा ५२ जना गरी कुल एक सय तीन जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरूलाई नेपाल राष्ट्र बैँकका सुमनराज सुवेदीले प्रशिक्षण दिएका थिए । कार्यक्रमले लक्षित वर्गलाई वित्तीय चेतना प्रदान गरी वित्तीय सशक्तीकरणमा योगदान पुग्ने विश्वास बैँकले लिएको बताइएको छ ।
कार्यक्रममा वित्तीय सेवासम्बन्धी ज्ञान, बैँकले प्रदान गर्ने सेवा, डिजिटल कारोबार र यसमा अपनाउनु पर्ने सावधानी, दैनिक आम्दानी तथा खर्चको विश्लेषण, विप्रेषण पठाउने माध्यम, बचत र लगानी, गुनासो व्यवस्थापन लगायत विषयमा जानकारी दिइएको छ ।