नम्रता न्यौपाने/संगालोखबर


विराटनगर । विराटनगरमा माघे सङ्क्रान्तिका लागि तरुल, सखरखण्डलगायत कन्दमूलको किनमेल बढेको छ । आज बिहानैबाट गुद्रीसहितका हटियामा कन्दमूल किन्नेको चहलपहल बढेको हो ।

माघ १ गते अर्थात भोलि माघे सङ्क्रान्ति पर्व भएकाले आज आवश्यक सामग्री किन्नेको घुइँचो बढेको पुरानो गुद्रीका व्यापारी दिनेश कुमार साहले बताए । पहाडी जिल्लाबाट ल्याएको घर तरुल गुद्रीबाट प्रतिकिलो ८० देखि एक सय रुपैयाँ प्रतिकिलोसम्ममा बिक्री भइरहेको व्यापारी बताउँछन् ।

Advertisement

यसैगरी सिमल तरुल प्रतिकिलो ८०, सखरखण्ड ८० र स्कुसको जरा प्रतिकिलो १८० रुपैयाँसम्ममा बिक्री भइरहेको व्यापारीहरू बताउँछन् । तर गतवर्षको तुलनामा यसवर्ष ब्यापार घटेको व्यापारीको गुनासो छ । ‘पहिला जस्तो व्यापार छैन’, साहले भने, ‘धरानबाट कन्दमूल ल्याएर बेच्दै छु । तर कम मूल्यमा बेच्नु परेको छ ।’

चाडपर्वको बेला सामान्य चहल-पहल भएपनि व्यापार घटेको अर्का व्यापारी सुधीरकुमार साह बताउँछन् । ‘विराटनगरमा यसपटक सोचेअनुसार व्यापार भएको छैन’, उनले भने, ‘साँझ तिर ब्यापार बढ्छ की भन्ने आश छ ।’

तरुललाई पुस मसान्त अर्थात आज (अघिल्लो दिन) उसिनेर माघ १ गते खाने परम्परा छ । जाडो याममा मानिसलाई बढी ऊर्जाको आवश्यकता हुने भएकाले कन्दमूल, घिउ, चाकु आदि खाने गरिन्छ ।

तस्बिर : नम्रता न्यौपाने/संगालोखबर

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!