विराटनगर । कोशी प्रदेशका पहाडी जिल्लाहरुको उत्तरी भेगमा हिमपात भएको छ । संखुवासभा, ताप्लेजुङ र तेह्रथुमको उत्तरी भेगमा हिमपात भएपछि सो क्षेत्रको जनजीवन प्रभावित भएको छ ।
संखुवासभाको चैनपुर नगरपालिका-१ गुफापोखरी आसपास क्षेत्रमा मङ्गलबार रातीदेखि हिमपात सुरु भएको हो । गुफापोखरीसँगै किमाथाङ्का, मकालु, मङ्गलबारे लगायत क्षेत्रमा हिमपात भएको छ । यता, ताप्लेजुङको पाथीभरा मन्दिरसहित आसपास क्षेत्रमा पनि हिउँ परेको छ ।
चिसोले पाथीभरा दर्शन गर्न आउनेको सङ्ख्या पनि घटेको छ ।
तेह्रथुमको उत्तरी क्षेत्रमा पनि हिमपात भएर चिसो बढेको छ । पहाडी क्षेत्रमा हिमपात र तराईमा हुस्से लाग्ने क्रम बढेपछि जनजीवन प्रभावित भइरहेको छ ।