संगालोखबर

पाँचथर । पाँचथरको फिदिममा सञ्चालित फाल्गुनन्द गोल्डकप फुटबलको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँले जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा मच्छिन्द्र फुटबल क्लब काठमाडौँलाई ट्राइबेकरमा ५-४ गोलअन्तरले हराउँदै चर्च ब्वाइजले उपाधि जितेको हो ।

Advertisement

निर्धारित समयमा दुबै टिम २/२ गोलको बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा चर्च ब्वाइजका सुजन डंगोल, रोहन कार्की, छिरिङ लामा, एकराज बुढाथोकी र फाकुन्ले अबियोमीले गोल गरे । मच्छिन्द्रका लागि सौरब सुब्बा, शनिस श्रेष्ठ, समिराज थोकर र देवेन्द्र तामाङले समान एक/एक गोल गरे । मच्छिन्द्रका दयानन्द एलङबमको प्रहारलाई चर्च ब्वाइजका गोल रक्षक कृष्ण मोक्तानले विफल तुल्याउँदा चर्च ब्वाइजले उपाधि चुमेको हो ।

उपाधिसँगै चर्च ब्वाइजले नगद १० लाख ५ सय ५५ रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता मच्छिन्द्रले ५ लाख ५ सय ५५ रुपैयाँमा चित्त बुझाएको छ । चर्च ब्वाइजका समिर तामाङ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता घोषित भए । प्रतियोगिता अवधिभर ५ गोल गरेका उनले ईभी स्कुटर र नगद १५ हजार पुरस्कार पाएका छन् । फाइनल खेलको म्यान आफ दी म्याच मच्छिन्द्रका सनिश श्रेष्ठ घोषित भएका छन् ।

बिजयी टिम तथा उत्कृष्ट खेलाडीहरूलाई कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेतसहितले पुरस्कार प्रदान गरेका छन् । फिदिम स्पोर्टिङ क्लबको आयोजनामा भएको प्रतियोगितामा नेपाल र भारतका १० टिमबीच प्रतिष्पर्धा भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!