इलाम । इलामको माङ्सेबुङ गाउँ, जहाँ लिम्बू समुदायको बाहुल्यता छ । किरात लिम्बू भाषा अनुसार माङ भनेको देवता र सेबुङ्ग भनेको छानेको ठाउँ अर्थात देवताले छानेको ठाउँ भन्ने विश्वास गरिन्छ ।
यही गाउँमा मासु र मदिरा चल्दैन । शाकाहारी भोजन मात्रै चल्ने यो गाउँमा चुरोट, बिडी, खैनी र मदिराको सेवन निषेध छ । माङ्सेबुङ गाउँपालिका ३ र ५ नम्बर वडामा पर्ने यो गाउँका मानिसहरूले बाहिर जाँदा समेत निषेधित वस्तु सेवन नगर्ने गरेको स्थानीयको दाबी छ ।
हुन त यो नियम स्थानीय सरकारले बनाएको हैन । करिब एक हजार पाँच सय परिवार बसोबास गर्ने यो स्थानमा मानिसले किरात धर्म मान्ने गर्दछन् । यो धर्म मानेपछि हत्या, हिंसा र फटाइँ गर्न नहुने मान्यताले मासु र मदिरा निषेध गरिएको स्थानीय बताउँछन् ।
अग्रज स्थानीय केहरसिंह योङहाङका अनुसार यस स्थानका होटल तथा रेष्टुरेन्टमा पनि मासु पाक्दैन र मदिरा बिक्रीका लागि पनि राखिँदैन । २०७२ सालमा शाकाहारी घोषणा गरिएको गाउँको प्रवेशद्वार बोर्डमै यस विषयमा जानकारी गराइएको छ । किरात धर्म मान्ने समुदाय पनि पछिल्लो समय बढ्दै गएको स्थानीयको भनाइ छ ।
उक्त धर्म मान्नेहरूले घरैपिच्छे तीन वटा बाँसका लिङ्गोमा रातो र सेतो ध्वजा राख्छन्, साथै सूर्य अङ्कित ध्वजा समेत राख्ने गरेका छन् । माङसेबुङ गाउँपालिकामा रहेको लारुम्बा गाउँको चिनारीकै रूपमा यसलाई लिइन्छ ।
लारुम्बा गाउँ किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको कर्म थलो हो । सोही धर्म अनुसरण गर्नेहरूको बसोबास रहेका कारण नै सो क्षेत्रमा हानिकारक वस्तु निषेधित गरिएको स्थानीय बताउँछन् ।
धर्मगुरु लिङ्देनका सबै अनुयायी शाकाहारी भएकाले माछा मासु मात्रै होइन, मदिरा र सुर्ती चुरोट पनि सेवन गर्न हुँदैन भन्ने परम्परा छ । मदिरा सेवन नहुने भएकाले हल्ला र झगडा पनि खासै नहुने स्थानीयले बताए ।
जसका कारण गाउँ शान्त रहेको उनीहरूको भनाइ छ । गाउँमा जथाभावी फोहोर गर्न निशेष गरिएको छ भने सुँगुर, कुखुरालगायत पनि पाल्न पाइँदैन ।