विराटनगर । विराटनगरका व्यवसायी विजय अग्रवालमाथि निर्घात कुटपिट भएको छ । आज बिहान करिब ११ बजे युवाहरूको समूहले व्यवसायी अग्रवालमाथि निर्घात कुटपिट गरेको हो ।
अग्रवाल, विराटनगरको तृष्णा होटलका सञ्चालक हुन् । उनले ट्राफिक चोकमा बालाजी कपडा पसल पनि सञ्चालन गर्दै आएका छन् । कपडा पसलमै आएर युवाहरूले उनीमाथि कुटपिट गरेका हुन् ।
कुटपिटबाट अग्रवालको शरीरका विभिन्न भागमा चोट लागेको छ । व्यवसायी अग्रवालका अनुसार युवाहरूले शनिवार राती तृष्णा होटलमा झगडा गरेपछि उनीहरूलाई होटलबाट निकालिएको थियो । सोही विषयलाई लिएर आफूमाथि कुटपिट भएको हुनसक्ने अग्रवाल बताउँछन् ।
कुटपिटको यकिन कारण खुलेको छैन । कुटपिटमा संलग्न युवाहरूको पहिचान खुल्न बाँकी छ । अग्रवालमाथि कुटपिट भएको दृष्य पसलको सिसिटिभीमा पनि कैद भएको छ । ४/५ जनाको समूहमा आएका युवाहरूले उनीमाथि साङ्घातिक आक्रमण गरेको दृष्यमा देखिन्छ ।
कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै अग्रवालले आज दिउँसो जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । कुटपिटसँगै आफ्नो साथमा रहेको गरगहना सहितका बहुमूल्य बस्तुहरू पनि युवाहरूले लगेको अग्रवालले उजुरीमा उल्लेख गरेका छन् ।
प्रहरीले यो विषयमा अनुसन्धान अघि बढाएको छ ।