विराटनगर । कोशी प्रदेशमा स्वास्थ्य मन्त्रालयले खरिद गरेका उपकरण बिग्रिएका पाइएको छ । भौतिक पूर्वाधारसँगै स्वास्थ्य मन्त्रालयको समेत जिम्बेवार सम्हालिरहेका मन्त्री भूपेन्द्र राईले बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै विभिन्न उपकरण बिग्रिएका पाइएको जानकारी गराएका हुन् ।
जिल्ला अस्पताल झापा, उदयपुर, सोलुखुम्बु, खोटाङ, तेह्रथुम, संखुवासभा, ओखलढुङ्गा, पाँचथर र मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेका प्रायः उपकरण बिग्रिएका मन्त्री राईले बताए । उनले कतिपय उपकरण चलाउने दक्ष जनशक्ति नहुँदा पनि समस्या देखिएको उल्लेख गरे ।
सरकारी अस्पतालको यो अवस्थाले जनताले सामान्य सेवा समेत पाउन मुस्किल देखिएको उनले बताए । अक्सिजन कन्सक्टरदेखि इसिजी, एक्सरे, अप्रेसन टेबल, युएसजीलगायत सेवा प्रवाहका लागि आवश्यक उपकरण बिग्रिएका उनको भनाइ छ ।
‘मर्मत गर्न मिल्ने उपकरण मर्मत गरेर सञ्चालन गर्नुपर्छ’, उनले भने, ‘लगानी मात्र खेर गएको अवस्था देखियो । आवश्यक उपकरण मात्रै खरिद गरेको भए यो अवस्था आउने थिएन ।’
दरबन्दी खाली
स्वास्थ्य मन्त्रालय मातहत ११ औं तहको पाँच दरबन्दी खाली छ । ९ र १० औं तहको बरिष्ठ कन्सलटेन्ट अब्सट्रेटिसियन एण्ड गाइनोलोजिस्ट र वरिष्ठ कन्सलटेन्ट पेडियाट्रिसियनको दरबन्दी खाली छ । छ/छ जनाको दरबन्दी भएपनि सबै रिक्त रहेका मन्त्री राईले बताए ।
बरिष्ठ कन्सलटेन्ट सर्जनको छ, जनरल फिजिसियनको छ र बरिष्ठ कन्सलटेन्ट साइक्याट्रिकको पाँच वटा दरबन्दी भएपनि सबै खाली छन् । बरिष्ठ कन्सलटेन्ट एनेस्थेसियोलोजिस्टको पाँच दरबन्दी मध्ये एक जना कार्यरत छन् ।
प्याथोलोजी, इएनटी सर्जन, डर्माटोलोजिस्ट, मेडिकल जनरलिस्ट, डेन्टल सर्जनको एक/एक जनाको दरबन्दी छ । अर्थोपेडिक्स सर्जनको पाँच, मेडिकल सुपरीटेन्डेन्टको १० वटा दरबन्दी भएपनि सबै रिक्त छन् । यस्तै कन्सलटेन्ट रेडियोलोजिस्टको पाँच वटा दरबन्दी मध्ये चार वटा रिक्त छन् ।
मेडिकल ल्याब टेक्नोलोजिस्टको पाँच, ल्याब टेक्निसियनको २१, स्टाफ नर्सको ८०, हेल्थ असिस्टेन्टको ३६, ल्याब असिस्टेन्टको १४, अनमीको ४६ र अहेबको २४ दरबन्दी रिक्त रहेका राईले बताए ।
दरबन्दी खाली हुँदा सेवा प्रवाहमा समेत समस्या भएको मन्त्री राईले उल्लेख गरे । रिक्त दरबन्दी पदपूर्ति गर्न प्रदेश लोकसेवा आयोग मार्फत तत्काल प्रक्रिया अगाडि बढाउने उनले बताए ।