विराटनगर । जनस्वास्थ्यकर्मी छाता सङ्गठन नेपाल जनस्वास्थ्य सङ्घले स्थापना दिवसको अवसरमा देशैभर विभिन्न कार्यक्रमको आयोजना गर्ने भएको छ । मंसिर २३ गते पर्ने स्थापना दिवसमा सात वटै प्रदेशमा कार्यक्रम गर्ने विराटनगरमा पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी दिएको हो ।
मंसिर १४ देखि २० गतेसम्म ७ वटै प्रदेशको राजधानीमा कार्यक्रम गर्ने जनाइएको छ । वर्तमान अवस्थामा प्रदेशको स्वास्थ्य अवस्था र आगामी रणनीतिका सन्दर्भमा हरेक प्रदेशमा मुख्यमन्त्री, सरोकारवाला मन्त्रालयका मन्त्री, स्वास्थ्य सचिव, स्वास्थ्यसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थाका प्रतिनिधि लगायतसँग छलफल हुने सङ्घका केन्द्रीय महासचिव कैलाश खाकी श्रेष्ठले बताए ।
छलफलबाट निस्किएको निष्कर्षलाई प्रदेशका सम्बन्धित स्वास्थ्य मन्त्रालय तथा सङ्घीय स्वास्थ्य मन्त्रालयमा बुझाइने उनले जानकारी दिए ।