बारा । बाराको कलैयास्थित रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुसवाहाको हत्याका मुख्य आरोपी पक्राउ परेका छन् । आदर्शकोतवाल गाउँपालिका-२ का ४१ वर्षीय सुरेन्द्रप्रसाद कुसवाहालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
उनलाई हिजो विराटनगरबाट पक्राउ गरेर बारा लगिएको हो । २०८१ जेठ २ गते साँझ आदर्शकोतवाल गाउँपालिका-२ खजुरीया भन्ने ठाउँबाट कलैयातर्फ आउँदै गर्दा क्याम्पस प्रमुख कुसवाहाको हत्या भएको थियो ।
घटना पछि सुरेन्द्र फरार थिए । उनी भारतका विभिन्न स्थानमा लुकेर बस्दै आएका थिए । घटनामा सुरेन्द्रसहित १७ जनाको संलगता रहेको प्रहरी अनुसन्धानमा खुलेको थियो ।
घटनालगतै प्रहरीले चन्द्रमणिप्रसाद कुसवाहा, चाँदसीप्रसाद कुसवाहा, सुमेदकुमार कुसवाहा, विनोद राउत कुर्मी, राधेशकुमार पटेल, अबधलाल कुसवाहा, चुल्हाइ भन्ने श्रवणकुमार साह, हरिन्दर महरा चमार, ब्रहमदेव राम, मोतीलाल चौधरीलाई पक्राउ गरेको थियो ।
उनीहरूमध्ये पटेल र कुर्मी कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत बाराबाट धरौटीमा छुटेका छन् । ८ जना पुर्पक्षको लागि कारागार चलान भएका छन् ।