विराटनगर । सुनसरीको खनारमा बसको ठक्करबाट जनता माध्यमिक विद्यालयमा अध्ययनरत छात्राको मृत्यु भएको खुलेको छ । आज दिउँसो ४ः३० बजेतिर बसको ठक्करबाट इटहरी उपमहानगरपालिका-१० की १३ वर्षीया सम्झना यादवको मृत्यु भएको हो ।
खनारको शान्ति चोकमा मे १ ख ४५७४ नम्बरको यात्रुबाहक बसले साइकलमा सवार उनलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट उनको घटनास्थलमा नै मृत्यु भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।
दुर्घटनापछि तनावपूर्ण बनेको घटनास्थल अहिले सामान्य बन्दै गएको बताए । ‘दुर्घटनापछि आक्रोशित भीडले बसमा आगजनी गरेको छ’, उनले संगालोखबरसँग भने, ‘भीडलाई तितरबितर पार्न हवाइ फायर र अश्रुग्यास प्रहार गरियो । अहिले अवस्था सामान्य बन्दै गएको छ ।’
भीडले ढुङ्गामुढासँगै अराजक गतिविधि गर्न थालेपछी हवाइ फायर र अश्रुग्यास प्रहार गर्नुपरेको उनले बताए । कति सेल अश्रुग्यास र हवाइ फायर भयो भन्ने खुल्न बाँकी रहेको उनले जानकारी दिए ।
उनले भने, ‘अहिले पनि सामान्य ढुङ्गामुढा भइरहेको छ । प्रहरी परिचालन गरिरहेकै अवस्था छ । ठूलो क्षतिलाई न्यूनिकरण गर्न सफल भइयो ।’ लासलाई घटनास्थलबाट उठाइएको उनले बताए । चालक अमित श्रेष्ठलाई पनि उद्धार गरेर सुरक्षित राखिएको उनले जानकारी दिए ।
‘अवस्था तनावपूर्ण हुँदा प्रहरी पनि घाइते भएका छन्’, डीएसपी तिमल्सिनाले संगालोखबरसँग भने, ‘मेरो पनि सञ्चार सेट ढुङ्गाले लागेर फुटेको छ । के-कति क्षति भयो भन्ने विवरण आउन बाँकी छ ।’