ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा मन्दिरमा डिजिटल माध्यमबाट भेटी चढाउन मिल्ने व्यवस्था मिलाइएको छ । ताप्लेजुङ स्थित लक्ष्मी सनराइज बैँकसँगको सहकार्यमा पाथीभरा क्षेत्र विकास समितिले भक्तजनका लागि डिजिटल माध्यमबाट भेटी चढाउन मिल्ने व्यवस्था मिलाएको हो ।
पाथीभरा क्षेत्र विकास समितिले लक्ष्मी सनराइज बैँकमा भेटी खाता सञ्चालन गरेको छ । अब खाताको ‘क्यूआर कोड’ मार्फत भक्तजन र दाताहरूले भेटी जम्मा गर्न सक्ने समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए ।
उनका अनुसार क्यूआर कोड तत्काल पाथीभरा मन्दिर परिसरमा राखिने छ । मन्दिर क्षेत्रमा इन्टरनेटको सुविधाका लागि टेलिकमसँग समन्वय गरी इन्टरनेट विस्तार गरिने उनको भनाइ छ ।