धनकुटा । २०३६ सालमा भएको छिन्ताङ हत्याकाण्डका सहिदहरूको स्मृति दिवसको अवसरमा सहिदभूमि गाउँपालिकाले भोलि बुधबार पालिका क्षेत्रमा स्थानीय बिदा दिएको छ । सहिदहरूको सम्मानमा हरेक वर्ष बिदा दिँदै आएको गाउँपालिकाले यो वर्ष पनि त्यसलाई निरन्तरता दिएको हो ।
गाउँपालिका अध्यक्ष मनोज राईको अध्यक्षतामा गत कात्तिक १३ गते बसेको कार्यपालिका बैठकले बिदा दिने निर्णय गरेको थियो । गाउँपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत नविन कार्कीले आज सूचना जारी गर्दै स्थानीय बिदा दिइएको जानकारी गराएका छन् । बिदामा गाउँपालिका कार्यालय, वडा कार्यालय, शिक्षण संस्था, स्वास्थ्य संस्था लगायत बन्द हुनेछन् ।
प्रजातन्त्र स्थापनाका लागि आवाज उठाउने खोकु, छिन्ताङ र आँखिसल्लाका १६ जना सर्वसाधारणको २०३६ कात्तिक २६, २७, २८ र २९ गते राज्यपक्षबाट हत्या गरिएको थियो । वामपन्थी विचार अवलम्बन गरेको र सरकार ढाल्न खोजेको भन्दै उनीहरूलाई तत्कालीन पञ्चायती सरकारको निर्देशनमा भीरबाट लडाएर, गोली हानेर र केहीलाई तमोर नदीमा बगाएर निर्मम हत्या गरिएको थियो ।
‘छिन्ताङ हत्याकाण्ड’ नामले चिनिने यो घटनामा मारिएकाहरूलाई ०७४ पुस २८ गते सरकारले राष्ट्रिय सहिद घोषणा गरेको छ ।
कसको कहिले हत्या भयो ?
- २०३६ कात्तिक २६ गते सहिदभूमि गाउँपालिका-१ का पुत्रमान थुलुङ राईको हत्या भयो ।
- कात्तिक २७ गते सहिदभूमि गाउँपालिका-३ का गोपाल आनन्द राई, रणध्वज पुमा राई, लाखमान साधु राई, गम्भीरमान दमाई, टंकबहादुर विश्वकर्मा, धनवीर दर्जी, गंगाबहादुर तुप्रिहाङ राई, चन्द्रबहादुर दर्जी, रामकुमारी राई, सहिदभूमि-१ का भैरवबहादुर खालिङ राई र बलबहादुर खत्रीको हत्या गरियो ।
- कात्तिक २८ गते सहिदभूमि-६ का केशरमान राई र गणेशबहादुर विश्वकर्माको हत्या भयो ।
- कात्तिक २९ गते सहिदभूमि-३ की श्रीमाया राई (हाङखिमा साइली) को हत्या भयो ।