काठमाडौं । गण्डकी प्रदेश सभा सदस्य दीपक मनाङे कारागार चलान भएका छन् । आज पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतले डिल्लीबजार कारागार चलान गरेको हो ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आज काठमाडौंबाट पक्राउ गरेर अदालतको फैसला कार्यान्वयन अधिकारी समक्ष पेश गरेको थियो । अदालतका फैसला कार्यान्वयन अधिकारीसमक्ष पेश गरेसँगै उनी जेल चलान भएका हुन् ।
कात्तिक २० गते सर्वोच्च अदालतले गुरुङलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । २०६१ वैशाख ३१ गते काठमाडौंको महाराजगञ्जस्थित चुफाङ रेष्टुरेन्टमा अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङलाई दीपक मनाङेको समूहले तरबार हानेको थियो ।
सोही घटनालाई लिएर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मनाङे समूहविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा दर्ता गरेको थियो । जिल्ला अदालत, काठमाडौंले ज्यान मार्ने उद्योग नभई कुटपिट भएको ठहर गर्दै मनाङेलाई दुई वर्ष जेल सजाय सुनाएको थियो ।
उनको समुहका अन्य व्यक्तिलाई सफाइ दिइएको थियो । फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय तत्कालीन पुनरावेदन अदालत, पाटन गयो । पाटनले मनाङेलाई पाँच वर्ष जेल सजाय सुनायो ।
अन्यलाई सफाइ दिने जिल्ला अदालतको फैसलालाई सदर गरिदियो । सरकारी वकिलको कार्यालय, मनाङे बाहेकका अन्य चार जनालाई पनि सजाय माग गर्दै सर्वोच्च गयो । तर जेल बाहिरै रहेका मनाङे २०७४ मा मनाङबाट स्वतन्त्र सांसद निर्वाचित भए ।
उनी २०७५ वैशाखमा अदालतमा उपस्थित भएर डिल्लीबजार कारागार चलान भए । १० वर्ष भन्दा कम जेल सजाय भएको मुद्दामा जेलबाहिर रहेर पुर्पक्ष गर्न पाइने कानुनी व्यवस्था रहे अनुसार छुटेका मनाङे पटक–पटक मन्त्री बने ।
२०७९ मा पुनः दोस्रो पटक प्रदेश सभा सदस्यमा निर्वाचित भएका मनाङे दुई पटक मन्त्री बने । कात्तिक २० मा सर्वोच्च अदालतबाट फैसला आएपछि मनाङे फरार भएका थिए ।