सुनसरी । सुनसरीको बराहक्षेत्रमा हरिबोधनी एकादशी मेला आजबाट सुरु भएको छ । ३० गतेसम्म लाग्ने मेलामा नेपालसहित भारतका विभिन्न स्थानबाट तीर्थयात्री आउने गर्दछन् ।
चार दिनसम्म लाग्ने मेलालाई लक्षित गरेर आवश्यक तयारी गरिसकिएको बराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ । प्रत्येक वर्ष मेलामा उल्लेख्य भक्तजनहरूको सहभागिता हुने गरेको छ ।
बराहक्षेत्रलाई संसारको चारधामको रूपमा लिने भएकाले मेला भर्न भुटानबाट पनि तीर्थयात्री आउने गरेका छन् । यस वर्ष पाँच लाख तीर्थालु आउने अनुमान गरिएको मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ ।