झापा । तिहार नजिकिएसँगै झापामा सयपत्री फूलको माग बढेको छ । झापामा व्यवसायिक फूल खेती गर्दै आएका कृषकहरूसँग उपभोक्ताले तिहार अगाडि नै फूलको माग गर्न थालेका छन् ।
बिर्तामोड नगरपालिका-९ की सुष्मा भण्डारी व्यवसायिक फूलखेती गर्दै आएकी छन् । उनले १० कठ्ठा जमिनमा फूल लगाएकी छिन् । तर वर्षाका कारण धेरै बिरुवा मरेका कारण सोचेजति फूल फुलाउन नसकिएको उनले बताइन् । उनले बजारमा फूलसँगै मालाको पनि माग धेरै भएको सुनाइन् ।
तर माग अनुसारको उत्पादन भने नभएको उनको भनाइ छ । उनका अनुसार फूलको एक महिना अगाडिबाट नै माग भइरहेको छ । माग अनुसार सबैलाई फूल पुर्याउन सक्ने अवस्था नरहेको भण्डारीले बताइन् । उनका अनुसार प्रतिकिलो तीन सय ५० का दरले फूलको मूल्य निर्धारण गरिएको छ ।
तिहार बाहेक अन्य समयमा पनि फूलको उति नै माग हुने गरेको व्यवसायीहरू बताउँछन् । तिहारको बेला भने उत्पादन भन्दा बढी माग हुने भएकाले धान्न मुस्किल हुने उनीहरूको भनाइ छ । फूलको उत्पादनमा वृद्धि नहुँदा आयातित फूल खरिद गरेर व्यापारीहरूले बिक्री गर्ने गरेका छन् ।
स्थानीय स्तरमै व्यवसायिक फूल खेती तर्फ कृषकलाई आकर्षित गर्न सके आयातित फूल विस्थापित हुँदै जाने व्यापारीहरू बताउँछन् । झापामा विगतका वर्षहरूमा २० बिघा बढी जमिनमा सयपत्री फूलको व्यावसायिक खेती हुँदै आएको थियो । तर यो वर्ष फूल खेती घटेको अनुमान गरिएको छ ।