सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । तिहार नजिकिएसँगै छोटे सार्की यतिबेला व्यस्त छन् । मादल बनाउने सीप भएका छोटे माग बढेसँगै व्यस्त भएका हुन् । अहिले उनलाई खाना खाने समेत फुर्सद छैन । माग बढेपछि समयमै मादल बनाइ सक्नुपर्ने बाध्यताका बावजुत अन्य दुई जनासँग पनि उनले सहयोग लिइरहेका छन् ।

धनकुटा नगरपालिका-१ गैरी टोलका छोटेले अहिले मादल बनाउन छोरा निरबहादुर र भान्जा रमेश रोकाको सहयोग लिइरहेका छन् । छोटे भन्छन्, ‘यो बेला निक्कै व्यस्त भइन्छ । बिहान देखि रातिसम्म खट्नुपर्छ । समयमा खाना पनि खान पाइँदैन ।’

Advertisement

मादल बनाउन खमारी, लामपाटो, सिरीस, खिर्रो जस्ता काठको आवश्यकता पर्दछ । यसैगरी  बाख्रा, भैँसी र गोरुको छालासँगै अन्य सामग्रीको समेत जोहो गर्नुपर्दछ । तर बजारमा खोजेको सामान भेट्टाउन हम्मेहम्मे पर्ने उनी सुनाउँछन् ।

उनी थप्छन्, ‘खोजेको सामान सहजै पाउन छाडेका कारण थप समस्या हुने गरेको छ । तर जसोतसो काम भइरहेको छ ।’ तिहारको बेला तीन लाख बढीको कारोबार हुने उनको भनाइ छ ।

मादल बनाउन कठिन हुने र आकार अनुसार तीन देखी सात दिनसम्म लाग्ने छोटे बताउँछन् । एउटा मादल पाँच हजार देखि १३ हजार सम्ममा बिक्री हुनेगरेको उनले बताए ।
‘काठको ढुङ्ग्रो बनाउन गाह्रो हुन्छ । छाला भारतबाट ल्याउनु पर्छ ।

मादल बनाउने काम गाह्रो नै हो’, भान्जा रमेशले भने, ‘त्यसपछि मादलको छाला तन्काउन र खरी लगाउन गाह्रो हुन्छ ।’ धनकुटासहित सङ्खुवासभा, सुनसरी, तेह्रथुम लगायतका जिल्लामा मादल बिक्री हुनेगरेको उनले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!