मोहन ढकाल/संगालोखबर


विराटनगर । विराटनगर-१८ आईसीपी क्षेत्रमा तनाव सिर्जना भएको छ । हिजो साँझ ट्रकको ठक्करबाट ६० वर्षीय श्याम साहको मृत्यु भएपछि आज स्थानीय विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

स्थानीयले सडकमा बत्ति नभएका कारण दुर्घटना भएको र सो क्षेत्रमा तत्कालै बत्ती जडान गर्नुपर्ने मागसहित प्रदर्शन गरिरहेका छन् । स्थानीयले आईसीपी क्षेत्रमा प्रवेश गरेर तोडफोड प्रयास गरेपछि तनाव सिर्जना भएको मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले संगालोखबरलाई जानकारी दिए ।

Advertisement

भीडलाई नियन्त्रणमा लिन १० राउन्ड अश्रुग्यास प्रहार गर्नुपरेको जोशीले बताए । ‘हिजो अस्पतालमा पनि पीडित पक्ष र स्थानीयका कारण केही तनाव सिर्जना भएको थियो’, डीएसपी जोशीले संगालोखबरसँग भने, ‘आज छलफल गर्ने भनेर अस्पतालबाट पठाइएको थियो । आज आईसीपी क्षेत्रमा वडाध्यक्षसहितको टोली आएर प्रदर्शन गर्नुभयो ।’

बत्ति नहुँदा र पार्किङ व्यवस्थापन नहुँदा दुर्घटना बढेको भन्दै स्थानीयले तत्काल यसको विकल्प खोज्नुपर्ने भन्दै आन्दोलन गरिरहेका उनले बताए । उनले थपे, ‘उहाँहरूले शान्तीपूर्ण आन्दोलन हुन्छ भन्नुभएको थियो । तर अराजक गतिविधि गर्न थालेपछि बाध्य भएर बल प्रयोग गर्नुपर्ने अवस्था आयो ।’

बल प्रयोग गरेपछि भीड तितरबितर भएको र ठूलो क्षति हुनबाट जोगिएको उनले बताए । अहिले पीडित र पीडक दुबै पक्षलाई जिल्ला प्रहरी कार्यालयमा छलफलमा बोलाएको जोशीले जानकारी दिए ।

अहिलेपनि स्थानीयले प्रदर्शन गरिरहेको बताउँदै उनले भने, ‘अहिले अवस्था सामान्य जस्तै बनेको छ । प्रर्दशन भने भइरहेको छ । सोही अनुसार हामीले सुरक्षा व्यवस्था पनि कडा बनाएका छौं ।’

अहिले मृतक साहको शव विराट नर्सिङ होममा नै राखिएको छ । जाहेरी आउन बाँकी रहेको र पीडित पक्ष नआएका कारण शवलाई प्रकृया पुर्‍याएर पोष्टमार्टम गर्न लान बाँकी नै रहेको जोशीले बताए ।

प्रर्दशनका क्रममा चार जना प्रहरी सामान्य घाइते भएका छन् । उनले भने, ‘चार जना प्रहरी कर्मचारीहरूलाई पनि सामान्य चोटपटक लागेको छ । प्राथमिक उपचार बाटै ठीक हुने अवस्थामा छ ।’

हिजो साँझ ना ४ ख २४८३ नम्बरको ट्रकले साइकललाई ठक्कर दिँदा साह गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि विराट नर्सिङहोममा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटना लगत्तै फरार भएका ट्रक चालक सुनसरीको बर्जू गाउँपालिका-५ का दीपक यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!