सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । विशेषगरी मन्दिरमा बिहानको समयमा पूजाआजा गर्ने गरिन्छ । तर एउटा यस्तो मन्दिर छ, जसलाई साँझ परेपछि मात्रै पूजाआजाका लागि खुला गरिन्छ । जुन मन्दिर धनकुटाको सहिदभूमि गाउँपालिका-३ मा अवस्थित छ ।

छिन्ताङ जाल्पादेवी माता साँझ परेपछि मात्रै पूजाआजाका लागि खुला गरिने चर्चित मन्दिर हो । यस मन्दिरमा साँझ ५ बजेपछि मात्रै पूजाआजा गरिन्छ । मन्दिरको आफ्नो छुट्टै विशेषता भएकाले साँझको समयमा मात्रै खुला गर्ने गरिएको जानकारहरू बताउँछन् ।

Advertisement

मन्दिर व्यवस्थापन समितिका पूर्वअध्यक्ष योगेन्द्र राईका अनुसार मन्दिरमा साँझ परेपछि दर्शनार्थीको भीड लाग्ने गर्दछ । साँझ मात्रै खुल्ने यस मन्दिरमा राति अबेरसम्म पूजाआजा हुन्छ ।

सङ्खुवासभा जिल्लामा दिदी र धनकुटाको सहिदभूमिमा बहिनी रहेको विश्वासका साथ दुबैतिर फरक समयमा पुजा हुने गरेको स्थानीय अग्रजहरू बताउँछन् ।

जानकारहरूका अनुसार सङ्खुवासभामा रहेको मन्दिरमा बिहान पुजा गरिन्छ । उक्त मन्दिरमा पूजाआजा सकिएपछि मात्रै छिन्ताङ जाल्पादेवीमा पुजा सुरु गरिने पूर्वअध्यक्ष राईले जानकारी दिए ।

यस मन्दिरमा औंसी र आइतबार बाहेक नियमित पुजा हुन्छ । मन्दिर रहेको स्थानमा एक अनौठो प्रजातीको रुख समेत रहेको छ । त्यही रुखको फेदमा मुख्य देवीको बसोवास रहेको विश्वास गरिन्छ ।

तर रुख कुन प्रजाति र कति पुरानो हो भनेर अहिलेसम्म पत्ता लाग्न नसकेको स्थानीय बताउँछन् । मनोकामना पुरा हुने विश्वासका साथ विभिन्न जिल्लाबाट दैनिक एक सय बढी दर्शनार्थीहरू आउने गरेका छन् । भाकल राखेका कुराहरू पुरा हुने विश्वासका साथ वर्षेनी मन्दिरको दर्शन गर्ने गरेको दर्शनार्थी रुद्रबहादुर मगरले बताए ।

मन्दिर परिसरमा रातदिन कहिले पनि ननिभ्ने गरी आगो बाल्ने गरिन्छ । रजश्वला हुने उमेर समुह भन्दामाथिका महिलाहरूलाई मन्दिर प्रवेशमा रोक लगाइएको छ । सुख्खाग्रस्त यो क्षेत्रमा मन्दिर आसपास भने प्रशस्त पानीको मुहान छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!