संगालोखबर


विराटनगर । नेपाल फर्मास्युटिकल एशोसिएसन कोशी प्रदेशले विश्व फर्मासिस्ट दिवस मनाएको छ । विराटनगरमा प्रभातफेरी, रक्तदान तथा अन्तरक्रिया कार्यक्रम गर्दै एशोसिएसनले दिवस मनाएको हो ।

एशोसिएसन कोशी प्रदेश अध्यक्ष शम्भु शाहको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि आन्तरिक मामिला तथा कानून मन्त्री  लिलावल्लभ अधिकारी थिए । मन्त्री अधिकारीले औषधीसम्बन्धी जनगुनासाहरू व्यापक आउने गरेको बताए ।

Advertisement

उनले यस क्षेत्रमा देखिएका विभिन्न समस्या समाधान गर्न प्रदेश सरकार सकारात्मक रहेको सुनाए । मन्त्री अधिकारीले फार्मेसीबाट हुनेगरेको कमजोरीहरूको अन्त्य हुन आवश्यक रहेको बताए ।

उनले भने, ‘औषधीसम्बन्धी व्यापक जनगुनासो आएको पाइन्छ । निःशुल्क औषधी नपाउने, कम गुणस्तरको औषधी दिने, कमिसनको लोभमा अनावश्यक औषधी दिने गरेको सुनिन्छ । यस्ता घटना न्यूनिकरण हुन आवश्यक छ ।’

नेपाल औषधी व्यवसायी सङ्घ कोशीका अध्यक्ष कुमार खतिवडाले औषधीको दर्ता, व्यवसाय नवीकरण लगायतका विषयमा हिमाली तथा पहाडी क्षेत्रका व्यवसायीलाई समस्या भएको उल्लेख गरे ।

औषधी विभागहरू सीमित ठाउँमा मात्र हुँदा समस्या भएकाले प्रदेश र स्थानीय सरकारले जिम्मा लिएर सेवा प्रवाह गर्नुपर्ने उनले बताए । उनले कतिपय नीतिगत कमजोरीका कारण आधारभूत देखि प्रादेशिक अस्पतालमा फार्मेसी जनशक्तिको अभाव रहेकाले यस विषयमा सरकार गम्भीर हुनुपर्ने धारणा व्यक्त गरे ।

स्वास्थ्य मन्त्रालय कोशी प्रदेश सचिव डा.राधिका थपलियाले प्रदेशमा फार्मेसी सेवा समूहको जनशक्ति न्यून रहेको स्वीकार गरिन् । उनले सो विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै दरबन्दी बढाउन पहलकदमी लिने बताइन् ।

सचिव थपलियाले फार्मेसी जनशक्तिको भूमिका धेरै क्षेत्रमा हुने भएकाले उनीहरूलाई अलग राखेर गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहको परिकल्पना गर्न नसकिने बताइन् ।

एशोसिएसन कोशी प्रदेश अध्यक्ष शाहले औषधी उत्पादन देखि उपभोगसम्म फार्मेसी जनशक्तिको भूमिका महत्वपूर्ण हुने भएपनि राज्यबाटै त्यसको अवमूल्यन भएको बताए । ५० बेड भन्दा माथिका अस्पतालहरूमा फार्मेसी अधिकृतको दरबन्दी हुनुपर्नेमा प्रादेशिक अस्पतालमा समेत दरबन्दी नभएको उनले सुनाए ।

इलाम, धनकुटा, उदयपुर र सङ्खुवासभामा १/१ वटा मात्र फार्मेसी सहायकको दरबन्दी रहेको तर अन्य जिल्लामा दरबन्दी नै नभएको उनले बताए । सो अवसरमा फार्मेसी क्षेत्रमा लामो समय काम गरेका गणेश कुमार तामाङ र औषधि उत्पादन क्षेत्रमा सक्रिय रहेका सुवर्ण भक्त जोशीलाई सम्मान गरिएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!