मोहन ढकाल/संगालोखबर


विराटनगर । छठ पर्वमा बेहुली झैँ सिँगारिने नहर क्षेत्र अन्य समयमा भने ‘डम्पिङ साइट’ मा परिणत हुन्छ । नहरको सजावट गर्ने स्थानीय नै केही दिनमा नहरलाई डम्पिङ साइट बनाउँछन् ।

विराटनगर महानगरपालिकाले फोहोर व्यवस्थापनमा प्रभावकारी काम गर्न सकेको छैन । नगरवासीले पनि जथाभावी फोहोर फ्याँक्ने परम्पराको अन्त्य गर्न सकेका छैनन् । जसका कारण विराटनगर क्षेत्रको नहर कुरूप देखिन्छ । हुन त विराटनगरको सडक, नाला जहाँ पनि फोहोर फ्याँक्नेहरूको कमी छैन ।

Advertisement

फोहोर फ्याँक्नेमा सचेत वर्ग नै अगाडि पर्छन् । जसले समाजलाई सचेत गराउनु पर्ने हो, उनीहरू नै यो मामलामा सचेत देखिदैनन् । मर्निङ वाकको  समयमा अथवा रात परेपछि नहर या बाटोमा फोहोर फ्याँक्ने गरेको पाइन्छ ।

यसको विरुद्ध केही सामाजिक अभियन्ताहरू सक्रिय भएर लागिरहेका छन् । नहरलाई सफा र स्वच्छ बनाउनुपर्छ भन्ने उद्देश्यका साथ विराटनगर-४ का स्थानीय केही समयदेखि निरन्तर नहर सफाइ अभियानमा जुटेका छन् ।

गत बैशाख १ गतेबाट सुरु भएको नहर सफाइ अभियानले निरन्तरता पाइरहेको छ । पाँच महिनाको अवधिमा अभियानले प्रतिफल पनि दिएको छ । स्थानीय सचेत हुने क्रम बढ्दो छ ।

विराटनगर-४ का स्थानीय देवचन्द्र घिमिरेको अगुवाइमा सुरु भएको अभियानले सार्थकता पाउँदै गएको छ । फोहोर र झारले भरिएको नहर सफाइ अभियानमा स्थानीय पनि जोडिन थालेका छन् ।

घिमिरे भन्छन्, ‘नहरको फोहोरले धेरै महामारी फैलने सम्भावना देखेर सुरुवात गरेको अभियानमा धेरै जना जोडिनुभएको छ । हामीले सफाइसँगै फोहोर फ्याँक्न हुँदैन भनेर सचेतना पनि जगाइरहेका छौँ ।’ अभियान थप शसक्त रूपमा अगाडि बढिरहेको घिमिरे बताउँछन् । नहर सफाइ भएको स्थानमा लामखुट्टे पनि कमी भएको र दुर्गन्ध हटेको घिमिरेले बताए ।

नहर सरसफाइको क्रममा घरको ढल पनि सिधै नहरमा मिसाएको पाइएको उनी सुनाउँछन् । उनी भन्छन्, ‘यो अवस्थाको अन्त्य गर्नुपर्छ भन्ने हाम्रो चाहना हो । हामीले सम्झाउने बुझाउने काम पनि गरिरहेका छौँ ।’

उनले नहर धार्मिक आस्थासँग पनि जोडिएको बताए । घिमिरे भन्छन्, ‘यो धार्मिक आस्थासँग पनि जोडिएको छ । हामी फूलपाती, पिण्ड यही नहरमा सेलाउँछौँ । त्यसैले पनि नहरलाई सफा राख्नुपर्छ भन्ने हाम्रो उद्देश्य हो ।’

नहरलाई पर्यटकीय गन्तव्यको रूपमा समेत विकास गर्न सकिने अभियन्ताहरू बताउँछन् । यसको लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले विशेष भूमिका खेल्नुपर्ने घिमिरे बताउँछन् ।

‘तीनै तहको सरकार समक्ष नहरलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न आग्रह गर्छौँ’, घिमिरेले थपे, ‘विशेष गरेर स्थानीय जनप्रतिनिधिले यसमा ध्यान दिनुपर्छ । नहरलाई सौन्दर्यकरण गर्न आवश्यक छ । सुन्दर र सफा नहर बनाउन हाम्रो प्रयास जारी रहन्छ । पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सके विराटनगरको गौरव हुने थियो ।’

नहर छेउ घर भएका रामचन्द्र भट्टराई पनि नहर सफाइमा जुटेका छन् । उनी भन्छन्, ‘देवचन्द्र भाइले सुरु गरेको अभियानमा जोडिन पाउँदा खुसि लागेको छ । अहिले हाम्रो वरिपरिका सबै जना सचेत हुनुभएको छ । अभियानमा उहाँहरूले पनि साथ दिनुभएको छ ।’

उनले नहर सफाइको क्रममा सफाइ कार्ड बनाउन प्रेरित गरिरहेको र धेरै जनाले बनाइसकेको सुनाए । उनी भन्छन्, ‘यो पनि एउटा सकारात्मक पक्ष हो । फोहोर गर्नुहुन्न भन्ने सबैमा ज्ञान हुनुपर्छ । अहिले सफा गरिएको क्षेत्रमा फोहोर फ्याँक्ने क्रम कम भएको छ । कार्ड बनाएर गाडीमा फोहोर दिन थाल्नुभएको छ ।’

नहरमा संकलित फोहोर नेपाल फूलबारी वेष्ट थ्रीआरपोलुशन कन्ट्रोल सर्भिस प्रालिले व्यवस्थापनमा सहयोग गरिरहेको अभियन्ता भवेश पौडेलले बताए । उनले मर्निङ वाक वा रातिको समयमा ल्याएर फोहोर नफ्याँक्न सबैलाई आग्रह गरे ।

अभियान सुरु भएपछि सफा गरिएको नहर क्षेत्रमा सफा पानी बग्न थालेको उनको भनाइ छ । ‘हामी निगरानी पनि गरिरहेका छौँ ।’, उनले भने, ‘नहर सफाई भएको स्थानमा अहिले सुधार भएको छ । सबै स्थानीय जुट्नुभएको छ । निगरानी पनि गर्नु हुन्छ । सफाइ कार्डपनि बनाउनुभएको छ ।’

अभियन्ताहरू आफ्नो घर अगाडि आएर नहर सफा गर्न थालेपछि स्थानीय लक्ष्मी अधिकारी पनि उनीहरूसँगै अभियानमा जुटिन् । उनले यस कार्यले सबैलाई सचेत बनाउने र आफ्नो ठाउँ सफा राख्न साथै फोहोर नफ्याँक्न प्रेरणा दिने बताइन् ।

उनले भनिन्, ‘नहर सफाइ अभियान सुरु भएकोमा खुसी छौँ । उहाँहरूको अभियानमा हामीले पनि साथ दिएका छौँ । महानगर र वडाले यसमा ध्यान दिनुपर्ने हो । तर ध्यान दिएको पाइँदैन । फोहोर नफ्याँक्न आग्रह गर्दछु । गाडीमा फोहोर पठाउँ । त्यसो गरेमा हाम्रो ठाउँ सफा हुन्छ ।’

सबैले अनिवार्य सफाइ कार्ड बनाएर महानरलाई सफा र स्वच्छ बनाउन महानगरबासी जुट्न आवश्यक भएको उल्लेख गरिन् । ‘हरियाली सहर, हाम्रो रहर’ भन्ने नाराका साथ अभियान सुरु गरिएको स्थानीय चुडामणी घिमिरे बताउँछन् । विराटनगरलाई सफा, स्वच्छ र रोगमुक्त बनाउने आफूहरूको प्रयास रहेको उनको भनाइ छ ।

उनले भने, ‘हामीले नहर सफा मात्र गरेका छैनौँ । फोहोर पनि फ्याँक्न हुँदैन भनेर सन्देश पनि दिइरहेका छौँ ।’ विराटनगर-४ लक्ष्मीनारायण मन्दिर छेउबाट सुरु गरिएको सफाइ अभियान विराटनगर–५ को वडा कार्यालय छेउसम्म पुगेको स्थानिय रेवतमान सिंह कार्कीले बताए । अभियान निरन्तर रूपमा अगाडि बढ्ने कमला पौडेल मण्डलले बताइन् ।

महानगरले फोहोर व्यवस्थापनका लागि अझै प्रभावकारी भूमिका खेल्नु पर्ने र प्रत्येक घरलाई सफाइ कार्ड अनिवार्य गर्न भूमिका खेल्नुपर्ने उनीहरूको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!