धनकुटा । पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राईले जनताको काम छिटोछरितो ढङ्गले सम्पन्न गर्न जनप्रतिनिधि तथा कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।
बिहीबार जिल्ला समन्वय समिति धनकुटाले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै पूर्वमन्त्री राईले यस्तो निर्देशन दिएका हुन् । ‘जनताले सामान्य काममा पनि दुःख पाइरहेका छन्’, पूर्वमन्त्री राईले भने, ‘हामीलाई जनताले जिताएर पठाएका हुन् । दुःख दिने काम भयो भने जनताले नै हाम्रो मूल्याङ्कन गर्नेछन् ।’
गत आर्थिक वर्षमा धनकुटामा कर्मचारीको लापरबाहीले केही बजेट फ्रिज भएको बताउँदै आगामी दिनमा यस्तो नगर्न राईले सुझाव समेत दिए । जनताको जीवनमा परिवर्तन ल्याउन सकिने कार्यक्रम सञ्चालनमा रहेकोले त्यसमा कुनै पनि किसिमको लापरबाही नगर्न उनले आग्रह गरे ।
सोही अवसरमा आव २०७९/०८० को मूल्याङ्कनका आधारमा उत्कृष्ट अंक ल्याउने पालिकाहरूलाई सम्मान समेत गरिएको थियो । नगरपालिकातर्फ ६९ अङ्कका साथ पाख्रिबास प्रथम, ६६ अङ्कका साथ महालक्ष्मी दोस्रो र ६० अंकका साथ तेस्रो भएको धनकुटालाई सम्मान गरिएको थियो ।
गाउँपालिकातर्फ ८१ अङ्क ल्याउँदै छथरजोरपाटी प्रथम, ७९.५० अङ्कका साथ सहिदभूमि दोस्रो र ७४.२५ अङ्क ल्याउँदै तेस्रो भएको चौबिसे र ७२ अङ्क ल्याउँदै चौथो भएको साँगुरीगढी गाउँपालिकालाई सम्मान गरिएको थियो ।।
आर्थिक वर्ष २०८०/०८१ मा धनकुटा जिल्लामा सञ्चालित बजेट योजनाको विषयमा सुरु भएको वार्षिक प्रगति समीक्षा भोलिसम्म चल्नेछ । कार्यक्रममा सातवटै स्थानीय तह, प्रदेश र संघ सरकार मातहतका विषयगत कार्यालय र विभिन्न गैरसरकारी कार्यालयले गत आर्थिक वर्षमा सञ्चालन गरेका योजनाका समेटिएको प्रतिवेदन प्रस्तुत गर्नेछन् ।