विराटनगर । मोरङ र झापामा डुबेर दुईजनाको मृत्यु भएको छ । झापामा एकजना बालक तथा मोरङमा एक वृद्धको डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मोरङको बूढीगंगा गाउँपालिका–७ का ७० वर्षीय साजुलाल चौधरीको नुहाउने क्रममा सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा डुबेर मृत्यु भएको हो ।
यसैगरी, झापाको झापा गाउँपालिकामा डुबेर एक बालकको मृत्यु भएको छ । झापा गाउँपालिका–१ सालमारा निवासी मोहम्मद दिलसाद मियाँका १० वर्षीय छोरा चिकु मियाको डुबेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार घरबाट खेल्न निस्किएका बालकको शव खाल्डोमा जमेको पानीमा भेटिएको थियो । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।