विराटनगर । गत साता विराटनगर–१५ भट्टी मोडमा भएको प्रहरीको गाडी दुर्घटनामा गम्भीर घाइते भएका प्रहरी जवान सौगात थापाको उपचारका क्रममा मृत्यु भएको छ । साउन २ गते भएको दुर्घटनामा घाइते भएका उनको विराटनगरस्थित नोवेल अस्पतालमा उपचार गरिएको थियो ।
थप उपचारका लागि काठमाडौँस्थित नेपाल प्रहरी अस्पतालमा लगिएको थियो । त्यहाँबाट पनि काठमाडौँ न्यूरो अस्पतालमा रेफर भएका उनको त्यहीँ उपचारका क्रममा हिजो मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
सुनसरीको धरान उपमहानगरपालिका–१७ घर भएका थापा कोशी प्रदेश तालिम केन्द्रमा कार्यरत थिए । उनीसहित ५४ जनाको प्रहरी टोली चढेको बा १ ग २५५९ नम्बरको गाडी दुर्घटनामा परेको थियो ।
अन्य घाइते केही उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् भने केहीको उपचार जारी रहेको जनाइएको छ ।