संगालोखबर

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक बढेको छ । निरन्तर बढ्ने क्रममा खतराको तह पार गरेपछि केही बेरअघि कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलेर पानीलाई निकास दिइएको छ ।

Advertisement

पछिल्लो तथ्यांकअनुसार कोशी ब्यारेज भएर ३ लाख ७० हजार क्युसेक पानी बगिरहेको छ । ब्यारेजस्थित नियन्त्रण कक्षका अनुसार पानीलाई निकास दिन ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको हो । बिहान ६ बजे पानीको बहाव ३ लाख ४२ हजार क्युसेक थियो ।

सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीका अनुसार पानीको बहाव अत्यधिक बढेपछि ब्यारेज र आसपास क्षेत्रमा प्रहरी टोलीले निगरानी गरिरहेको छ । नदी आसपास क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरिएको उनले बताए ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले पानीको बहाव बढेसँगै अनुगमनलाई निरन्तरता दिएको बताए । भारतीय पक्षसँग समन्वय पनि गरिरहेको उनले जानकारी दिए । सप्तरीतर्फ पनि उसैगरी निगरानी भइरहेको त्यहाँको प्रशासनले जनाएको छ ।

यसैबीच, पानीको बहाव अहिले पनि निरन्तर बढिरहेकोले जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी सूचना केन्द्रले सप्तकोशीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन सूचित गरेको छ । यसअघि स्थानीय प्रशासनले कोशीमा डुंगा चलाउन, माछा मार्न र अरु गतिविधि गर्न रोक लगाएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!