संगालोखबर

विराटनगर । कोशी प्रदेश सरकारविरुद्धको मुद्दामा सर्वाेच्च अदालतबाट आज फैसला आउने सम्भावना छ । सर्वोच्चको फैसला कस्तो आउला भन्ने जिज्ञासा राजनीतिक वृत्तसहित सर्वसाधारणमा पनि देखिन्छ । पटकपटक अदालतमा पुगेको कोशी सरकारको विषयले यसपटक कस्तो निकास पाउला भन्ने जिज्ञासाको उत्तर सर्वोच्चको फैसलाले दिने निश्चित छ ।

Advertisement

उक्त मुद्दामा आज अन्तिम बहस भइरहेको छ । न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासमा बहस भइरहेको हो । यसअघि हिजै फैसला आउने सम्भावना रहेको कानुन व्यवसायीहरुले बताए पनि अर्को पक्षका कानुन व्यवसायीहरूले बहसका लागि थप समय माग गरेपछि आज पनि सुनुवाइ गरिएको हो ।

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा जेठ ३१ गतेदेखि सुनुवाइ भइरहेको छ । उक्त दिन कार्कीका तर्फबाट बहस भएको थियो । हिजो भने मुख्यमन्त्री हिक्मतबहादुर कार्कीका तर्फबाट बहस भएको थियो ।

यो मुद्दामा न्यायाधीशहरूले रिट निवेदक, विपक्षी र सरकारी वकिलहरूलाई मुख्य रुपमा तीनवटा विशेष प्रश्न गरेका छन् । कोशी प्रदेशको मुख्यमन्त्रीको रूपमा केदार कार्की संविधानको धारा १६८ को उपधारा ५ अनुसारको मुख्यमन्त्री भएकाले उनीपछि अर्काे मुख्यमन्त्री सोही उपधारा अनुसार बन्न मिल्छ कि मिल्दैन भन्ने उनीहरुको प्रश्न थियो ।

‘उपधारा ५ अनुसारको मुख्यमन्त्रीले एकपटक विश्वासको मत पाएपछि पुनः २ वर्षसम्म लिन पर्छ कि पर्दैन’ भन्ने इजलासका न्यायाधीहरुको अर्को प्रश्न थियो । यसैगरी, संकल्प प्रस्तावका आधारमा प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री नियुक्ति गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न पनि उनीहरुले सोधेका थिए ।

कोशी प्रदेशको बर्तमान सरकारको भविष्य सर्वोच्च अदालतबाट आज हुने फैसलाले तय गर्नेछ । रिट निवेदकले माग गरेअनुसारको फैसला आयो भने केदार कार्कीले मुख्यमन्त्रीमा निरन्तरता पाउनेछन् । रिट खारेजीको फैसला आयो भने हिक्मतकुमार नेतृत्वकै सरकार कायम रहनेछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!