संगालोखबर

धनकुटा । देश-विदेशमा प्रसिद्ध राष्ट्रिय प्रतिभा झमक घिमिरेको सम्मानस्वरुप धनकुटा नगरपालिकाले नगरको एउटा सडकलाई उनकै नाममा नामकरण गर्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको आइतवार बसेको बैठकको यस्तो निर्णय गरेको हो । मदन पुरस्कार विजेता तथा धनकुटाको गहनाका रुपमा रहेकी झमकको सम्मानका लागि धनकुटा–६ स्थित आयुर्वेदिक अस्पतालदेखि वडा ४ मा पर्ने स्कुलडाँडासम्मको सडकलाई उनकै नाममा नामकरण गर्ने निर्णय भएको मेयर चिन्तन तामाङले बताए ।

Advertisement

सडकको नामकरणका साथै राम्रा जातका बिरुवा रोपेर संरक्षण गरी हरित सडकका रुपमा स्तरोन्नति गर्ने उनले जानकारी दिए । यसले गर्दा झमकको सम्मानका साथै पर्यटन प्रवर्द्धन समेत हुने अपेक्षा गरिएको मेयर तामाङको भनाइ छ ।

नगर कार्यपालिका बैठकको निर्णयमा भनिएको छ, ‘कोशी राजमार्गछेउ धनकुटा नगरपालिका वडा नम्बर ६ को आयुर्वेदिक अस्पतालदेखि धनकुटा नगरपालिका वडा नम्बर ४ स्कुलडाँडासम्म जोड्ने सडकलाई मदन पुरस्कार विजेता तथा धनकुटाको गहना झमक घिमिरेको सम्मानस्वरुप झमक घिमिरे मार्ग नामकरण गरी हरित सडकका रुपमा स्तरोन्नति गर्ने ।’

धनकुटाको कचिडेमा सन् १९८० मा जन्मिएकी झमक प्रतिभावान नेपाली महिला स्रष्टा हुन् । ‘सेरेब्रल पल्सी’ नामक मष्तिस्कसम्बन्धी रोगबाट पीडित उनी शारीरिक रुपमा अरुजस्तो सामान्य छैनन् तर साहित्य सिर्जनामा अब्बल छिन् ।

झमक जम्नेदेखि नै हातगोडा नचल्ने, उभिन, हिँड्न नसक्ने र बोल्न समेत नसक्ने अवस्थाकी छन् । अरुले बोलेको सुन्न र बुझ्न भने सक्छिन् । खुट्टाका तीनवटा औंला मात्र चल्ने उनले त्यसकै सहयोगमा साहित्य सिर्जना गर्दै आएकी छन् । औपचारिक शिक्षा समेत हासिल नगरेकी उनले घरमा भाइ र बहिनीले पढेको र लेखेको देखेर अनि सुनेरै आफ्नो क्षमता विकास गरेकी हुन् ।

२०५३ सालदेखि लेखन सुरु गरेकी उनले राष्ट्रिय तथा स्थानीय पत्रपत्रिकाहरुमा स्तम्भहरु लेखेकी छन् । उनका ‘संकल्प’, ‘आफ्नै चिता अग्नि शिखातिर’, ‘मान्छे भित्रका योद्धाहरू’, ‘झमक घिमिरेका कविताहरू’, ‘क्वाँटी सङ्ग्रह’ जस्ता कविता कृति प्रकाशित छन् । यसैगरी, ‘अवसान पछिको आगमन’ लघु कथालगायत पनि प्रकाशित छन् ।

उनले कविता राम बाल साहित्य प्रतिभा पुरस्कार–२०५५, अस्वीकृत विचार साहित्य पुरस्कार–२०५६, लैनसिंह वाङ्देल पुरस्कार–२०७२, प्रबल गोरखा दक्षिण बाहु चौथोलगायत दर्जनौँ पुरस्कार एवं सम्मान प्राप्त गरेकी छन् ।

पछिल्लो समय उनले लेखेको आत्मकथा ‘जीवन काँडा कि फूल’ सर्वाधिक चर्चित कृति हो । यही कृतिका लागि उनलाई २०६७ सालको मदन पुरस्कार प्रदान गरिएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!