संगालोखबर

काठमाडौं । नेपाली डान्स क्रु ‘वाइल्ड रिपर्ज क्रु’ का सुरेन्द्र राई र सुसन तामाङ गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ता गर्न सफल भएका छन् । नेपाललाई प्रतिनिधित्व गरेका यो जोडीले जमिनबाट सबैभन्दा अग्लो स्थानमा डान्स कोरियोग्राफी गरेर गिनिज बुकमा रेकर्ड बनाएका हुन् ।

Advertisement

सुसन र सुरेन्द्रले १९ मे (जेठ ६ गते) सोलुखुम्बुस्थित काला पत्थरमा आफ्नो कला पस्केका थिए । काला पत्थर ५६४४.५ मिटर (१८,५१९ फिट) उचाइमा छ । सुरेन्द्र र सुसनले ५,४४१ मिटर (१७,८५१ फिट) मा रेकर्ड बनाएका हुन् ।

सुसन र सुरेन्द्रले प्रस्तुत गरेको गीतको बोल थियो, ‘मन मगन’ । यो गीत साढे दुई मिनेट लामो छ। उनीहरुलाई साथ दिन अरु पनि उनीहरुसँगै काला पत्थर पुगेका थिए। उनीहरुलाई फोटोग्राफीमा सौगात कार्की र भिडियोग्राफीमा सोनम केसी र उमेश सापकोटाले साथ दिएका थिए ।

उनीहरुको यो प्रयासलाई ‘गिनिज वर्ल्ड रेकर्ड्स’ ले अनुमोदन गरेको छ । सबै प्रमाणहरूको समीक्षा गरेर सुरेन्द्र र सुसनलाई गिनिजले आधिकारिक रूपमै उच्चतम उचाइमा कोरियोग्राफी गर्ने जोडीको मान्यता दिएको हो ।

सुरेन्द्र र सुसनले सगरमाथा राष्ट्रिय निकुञ्ज, नेपाल पर्यटन बोर्ड र खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको स्वीकृतिमा यो कीर्तिमानी प्रयास गरेका हुन् भने गिनिजका तर्फबाट नेपालका आधिकारिक प्रतिनिधि चित्रकुमार कार्कीको निर्देशनमा यो कार्यक्रम सम्पन्न भएको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!