संगालोखबर

उदयपुर । शिक्षकले विद्यार्थीलाई कुनै किसिमको सजाय दिनु, दुर्व्यवहार गर्नु हुँदैन । अझ विद्यार्थी निरुत्साहित हुने खालका गतिविधि त गर्नै हुँदैन । उनीहरुले कुनै गल्ती गरेको अवस्थामा त्यसो गर्नु ठिक होइन भनेर सुधार्ने प्रयास गर्नुपर्ने महत्वपूर्ण भूमिका शिक्षकको हुन्छ । तर कतिपय शिक्षकले आफ्नो जिम्मेवारीको महत्व राम्ररी बुझेका हुँदैनन् ।

Advertisement

यस्तै भएको छ उदयपुरमा । कटारी नगरपालिका–२ खोक्सास्थित कमला आधारभूत विद्यालय शिक्षकले एकजना विद्यार्थीलाई अनौठो खाले दुर्व्यवहार गरेका छन् । उनको यस्तो गतिविधिको सर्वत्र विरोध र आलोचना भएको छ ।

कक्षा ३ मा अध्ययनरत् विद्यार्थीलाई उक्त विद्यालयका शिक्षक नातिबाबु भट्टराईले कापी नलिई विद्यालय आएको भन्दै ‘मार्कर पेन’ ले निधार र गालामा ठूलो अक्षरमा ‘मेरो कापी छैन’ लेखेर घर फर्काइदिएका थिए ।

मंगलवार बिहान विद्यालय पुगेका ती ७ वर्षीय विद्यार्थीमाथि भएको दुर्व्यवहारको घटना सामाजिक सञ्जालहरुमा छायो । सबैजसोले उक्त घटनाको आलोचना गरे । शिक्षकमाथि कारबाहीको माग जोडतोडका साथ उठ्यो ।

उक्त घटना थाहा पाएका सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि घटनाप्रति कडा प्रतिक्रिया व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कापी नलिइ स्कुल आएको भन्दै ७ वर्षे बालकको अनुहारमा मेरो कापी छैन लेखेर बेइज्जत गर्ने शिक्षकको अनुहारमा मेरो दिमाग छैन भनेर लेखिदिनुपर्छ । विद्यार्थी संगठनहरुको के काम ?’

सामाजिक सञ्जालमा कतिपयले ती विद्यार्थीप्रति सहानुभूति जनाउँदै सहयोग गर्ने इच्छा राखेर पनि स्टाटस लेखेका छन् । सामाजिक सञ्जालका एकजना प्रयोगकर्ता छत्र लकाई खड्काले यस्तो लेखेका छन्, ‘त्यो उदयपुरमा विद्यार्थी भाइलाई कापी लिएर स्कुलमा नगएको कारण उसको अनुहारमा मेरो कापी छैन भनेर लेखेर घरमा पठाउने शिक्षकको नाम के रहेछ लौन जानकारी पाउँ । अनि त्यो सानो विद्यार्थी भाइलाई मेरो तर्फबाट एक दर्जन कापीको व्यवस्था गरिदिन्छु, ती विद्यार्थी भाइका आफन्तहरुको सम्पर्क नम्बर पाउँ ।’

यसैबीच, घटना सार्वजनिक भएपछि व्यपाक आलोचना भोगेका शिक्षक भट्टराईले घटना स्वीकार गरेका छन् । विद्यालयका प्रधानाध्यापक घमन्ड कटुवालले शिक्षक भट्टराईले गलत गरेका स्विकारेको बताएका छन् ।

कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले विद्यार्थीलाई दुर्व्यवहार गर्ने शिक्षक भट्टराईलाई कारबाहीको प्रक्रिया सुरु गरिएको बताए । नगरपालिकाले ती शिक्षकलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!